आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

घनश्याम भुसाललाई नैतिक संकट, आफ्नै सरकारबाट धोका !

घनश्याम भुसाललाई नैतिक संकट, आफ्नै सरकारबाट धोका !

  • मिडिया डबली
  • शनिवार, जेठ १७ २०७७

  • 7.3K
    SHARES

  • घनश्याम भुसाललाई नैतिक संकट, आफ्नै सरकारबाट धोका !

    काठमाडौं – कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले रासायनिक मलमा अहिलेसम्म कहिल्यै नलागेको भन्सार सुरू गरेको छ ।

    अब किसानले मलमा ५ प्रतिशत भन्सार तिर्नुपर्नेछ । त्यस्तै बिउबिजनको भन्सार पनि १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

    किसानलाई राहत दिन भनेर सरकारले एकातिर मलमा अनुदान दिँदै आएको छ भने अर्काेतिर भन्सार सुरू गरेको छ । चालू आर्थिक वर्षमा सरकारले मलमा ९ अर्ब रुपैयाँ अनुदानका लागि विनियोजन गरेकोमा आगामी आर्थिक वर्षका लागि ११ अर्ब पुर्‍याउने घोषणा गरेको छ । यसरी २ अर्ब रुपैयाँ अनुदान बढाएको प्रचार गरेर सरकारले त्यो रकम भन्सारबाट उठाउने बाटो लिएको छ ।

    मुलुक रासायनिक मलमा पूर्णतः परनिर्भर छ । आर्थिक वर्ष ०७५/७६ मा १६ अर्ब १५ करोडको रासायनिक मल आयात भएको थियो । त्यस्तै चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म १८ अर्ब ८८ करोड ८९ लाख रुपैयाँको मल आयात भएको छ ।

    चालू आर्थिक वर्षमा ४ लाख ४० हजार मेट्रिक टन मल आयात भएकोमा आगामी वर्ष त्यसलाई ५ लाख ५० हजार मेट्रिक टन पुर्‍याउने लक्ष्य भएको कृषि विकास मन्त्रालयले जनाएको छ । त्यसमध्ये ३ लाख मेट्रिक टन युरिया, २ लाख ३५ हजार मेट्रिक टन डीएपी र १५ हजार मेट्रिक टन पोटास ल्याउने योजना छ ।

    कृषि क्षेत्रमा अहिले पनि प्राविधिक जनशक्तिको ठूलो अभाव भएकै वेला सरकारले जनशक्ति आधा कटौती गरिदिएको छ । हाल एक गाउँ, एक प्राविधिक (ओभिओटी) कार्यक्रमअन्तर्गत दुई हजार आठ सय प्राविधिक जनशक्ति गाउँमा कार्यरत छन् । अझै ६ हजार कृषि दरबन्दी खाली भएकाले कृषि मन्त्रालयले सो दरबन्दी पूर्ति हुने गरी बजेट विनियोजन गर्न अनुरोध गरेको थियो । तर बजेटले विद्यमान जनशक्ति पनि आधा कटौती गर्ने कार्यक्रम ल्याएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    बजेटले सबै स्थानीय तहमा एक कृषि र एक पशु सेवा प्राविधिकको व्यवस्था मिलाउने घोषणा गरेको छ । त्यसो गर्दा सात सय ५३ स्थानीय तहमा २ जनाका दरले १ हजार ५ सय ६ जना प्राविधिक रहनेछन् । जब कि २ हजार ८ सय त अहिले करारमा कार्यरत छन् । पहिलेका ८–१० वटा गाविस मिलेर बनेका स्थानीय तहमा एकजना प्राविधिकले सेवा पुर्‍याउने अनौठो नीति बजेटले ल्याएको छ ।

    ‘कृषि मन्त्रालयको यसपालिको बजेट ४१ अर्ब ४० करोड भनिएको छ, तर अर्थ मन्त्रालयले सीधै साना किसान विकास बैंकमार्फत सहकारीलाई दिने ४ अर्ब रुपैयाँसमेत यही बजेटमा जोडिएको छ,’ कृषि मन्त्रालयका एक अधिकारीले भने, ‘त्यो चार अर्ब रुपैयाँ अर्थ मन्त्रालयले वित्तीय व्यवस्थापन शीर्षकमा खर्च गर्ने हो, कृषिमा आउने खास बजेट ३७ अर्ब ४० करोड मात्रै हो ।’ त्यसमा पनि ६ अर्ब स्थानीय तहमा, दुई अर्ब प्रदेशमा जाँदै छ । गत वर्ष कृषि मन्त्रालयको बजेट करिब ३४ अर्ब थियो ।


    कृषिमन्त्री घनश्याम भुसालले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ भन्ने नारामा कृषिका कार्यक्रम तयारी गरी नीति तथा कार्यक्रम एवं बजेट निर्माणका लागि उपलब्ध गराएका थिए । तर नीति तथा कार्यक्रम र बजेट दुवैमा यो नारा हटाइएको छ । उत्पादन सामग्रीमा अनुदान दिने, दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्ने, प्राविधिक सेवा–टेवा जनतामा पुर्याउने, सुलभ र सस्तो ऋण उपलब्ध गराउने, सबै बाली–वस्तुको बिमा गराउने तथा न्यूनतम समर्थन मूल्य तोक्ने र खरिद गर्ने योजना मन्त्री भुसालको थियो । तर तीमध्ये अधिकांश कार्यक्रम बजेटमा पारिएको छैन ।

    बजेटले किसानलाई ऋणमा सहज पहुँच पुर्याउन भन्दै किसान क्रेडिट कार्ड सुरूवात गर्ने योजना सार्वजनिक गरेको छ । तर कृषि मन्त्रालय भने त्यो कार्यक्रम देखेर चकित परेको छ । ‘किसान क्रेडिट कार्डको विषयमा कृषि मन्त्रालयलाई थाहै छैन, यसको कुनै योजना पनि बनाइएको छैन, कार्यान्वयनको मोडालिटी पनि थाहा छैन,’ कृषि मन्त्रालयका अधिकारीले भने, ‘कार्यक्रम कसरी लागू हुने हो भन्ने विषयमा त कमसेकम कृषि मन्त्रालयलाई जानकारी त हुनुपर्ने हो ।’

    खासमा कृषि मन्त्रालयले किसानलाई ऋणमा सरल र सहज पहुँच दिलाउन ४ प्रस्ताव गरेको थियो । सबै पालिकामा पुग्ने गरी कृषि लघुउद्यम कोष प्रस्ताव गरिएको थियो । पहाड र तराईका एक स्थानीय तहले १–१ सय किसानलाई र हिमालमा ५० जना किसानलाई ५० हजारका दरले ऋण उपलब्ध गराउने प्रस्ताव थियो । श्रमजीवी साना किसानलाई दिने यस्तो ऋण निब्र्याजी र विनाधितो हुनुपर्ने प्रस्ताव थियो । त्यस्तै, ५ लाखसम्मको ऋण ३ प्रतिशतमा, ५ लाखदेखि ५ करोडसम्म ५ प्रतिशतमा दिने योजना कृषि मन्त्रालयको थियो ।

    त्यसमाथिका ऋणमा चाहिँ ५ प्रतिशत अनुदान दिने प्रस्ताव गरिएको थियो । तर बजेटले कृषिलाई लक्षित गरेर ऋणको कुनै प्रावधान ल्याएन, अन्य क्षेत्रलाई समेत मिसाएर गोलमटोल कार्यक्रम ल्याएको छ । प्रत्येक स्थानीय तहमा खाद्यान्न स्टोर, कोल्डस्टोर, नर्सरी, बिउबिजन भण्डार, मलखाद स्टोरसहितको कृषि सेल बनाउने योजनासमेत थियो । तर यस विषयलाई पनि बजेटले आंशिक रुपमा मात्रै सम्बोधन गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १७ २०७७०१:४७:४९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend