काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सरकार र पार्टीभित्र आन्तरिक विवाद पटक–पटक बल्झिने गरेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास भइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र मानिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले धोका दिएर ओलीतिर ढल्किए ।
बालुवाटारमै ओली गुटको भेलामा सहभागी भएर आफू ओलीको पक्षमा रहेको स्पष्ट संकेट मन्त्री भट्टले दिए । प्रचण्डको नेतृत्वमा नेकपाका अन्य शीर्ष नेता सहभागी भएर भइरहेको सरकार फेर्ने प्रयासलाई मन्त्री भट्टले खुलेरै गलत करार दिए ।
नेकपाभित्र प्रचण्ड गुट छाडेर ओलीतिर ढल्केका मन्त्री लेखराज भट्ट फेरि अगाडि आएका छन् । कोरोना भाइरस संक्रमणको रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्ने गरी यसअघि प्रचण्डकी बुहारी बिना मगरलाई तोकिएको भएपनि त्यस्तै अर्काे जिम्मेवारीमा उनलाई ‘आउट’ गरेर मन्त्री लेखराज भट्ट अगाडि आएका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गर्दा सुदूरपश्चिममा समन्वय गर्ने जिम्मेवारी मन्त्री लेखराज भट्टलाई तोकिएको छ । विदेशबाट ल्याइएका नागरिकलाई प्रदेशगत रुपमा छुट्याएर क्वारेन्टाइनमा राखी घर पठाउन सातै प्रदेशमा १/१ जना संघीय सरकारका मन्त्रीलाई जिम्मा दिइएको छ । ती मन्त्रीले नै आफ्नो जिम्मेवारीभित्रका जिल्ला र स्थानीय तहसँग समन्वय गर्ने गरी तोकिएको छ ।
संघीय सरकारले १ नम्बर प्रदेशमा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, २ प्रदेशमा श्रममन्त्री रामेश्वर राय, बागमतीमा महिला बालबालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पदमा अर्याल, ५ प्रदेशमा ऊर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टलाई संयोजनको जिम्मेवारी तोकिएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रबार बसेको बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ । बैठकमा कुन–कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने विस्तृत कार्ययोजना प्रस्तुत भएको थियो । विभिन्न देशमा रहेर स्वदेश फर्किन चाहने नागरिकको विवरण परराष्ट्र मन्त्रालयले बढीमा १० दिनभित्र संकलन गरेर सूची तयार पार्ने तयारी रहेको छ ।
शुक्रबार पेश भएको कार्ययोजनामा मन्त्रीहरूले सुझाव दिएपछि त्यसलाई थप परिमार्जन गरेर अन्तिम रुप दिन मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा दिइएको छ । सो कार्ययोजनाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउन उपप्रधानमन्त्री सहितका मन्त्रीहरू बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद् बैठकले यसअघि नै भारत लगायत तेस्रो मुलुकमा लकडाउनका कारण अलपत्र परेका नागरिक फिर्ता ल्याउने नीतिगत निर्णय गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।