काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको बजेटमाथि प्रतिक्रिया जनाउँदै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भएको टिप्पणी गरेका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेट सुनेपछि संघीय संसद भवनमा पत्रकारलाई प्रतिक्रिया दिँदै डा. भट्टराईले बजेटमा रेल र पानीजहाजका कुराले ‘एलर्जी’ भएको संकेत गरे ।
कोरोना संकटका बेला रेल र पानीजहाजको कुरा गर्नु आवश्यक नरहेको डा. भट्टराईले बताए । ‘अहिले रेलको कुरा किन चाहियो, यो वर्ष नगरे हुँदैन ?’ उनले प्रश्न गरे, ‘पानीजहाजको कुरा फेरि आएको छ । यसले अहिलेको संकट समाधान गर्दैन ।’
भट्टराईले बजेटले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न कठिन हुने बताए । उनले स्वास्थ्य क्षेत्रमा गत वर्षभन्दा २२ अर्ब रुपैयाँ मात्र बढी विनियोजन गरेर कोरोना महामारीको समस्या समाधान गर्न नसक्ने बताए ।
‘२२ अर्ब रुपैयाँबाट यति ठूलो संकटको उपचार गर्छु भन्ने असम्भव कुरा हो । फोकस पुगेन,’ उनले भने । सरकारले चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा ६८ अर्ब रुपैयाँ विनियोजन गरेको थियो भने आगामी आर्थिक वर्षमा ९० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
स्वदेश र विदेशमा रोजगारी गुमाएकालाई कृषि क्षेत्रमा रोजगारी दिने भनिएपनि जम्मा ७ अर्ब रुपैयाँ मात्र बजेट थप गरिनु पर्याप्त नहुने भट्टराईले बताए । ‘७ अर्ब रुपैयाँ मात्र लगानी गरेर, १० औं, १५ औं लाख रोजगारी दिन सक्नुहुन्छ ?’ उनले प्रश्न गरेका छन् ।
सरकारले अप्ठ्यारो समयमा पनि विगतकै निरन्तरतामा बजेट ल्याएको भट्टराईको प्रतिक्रिया छ । ‘बजेट निरन्तरतामा आयो यसले समस्या समाधान गर्दैन, राहत, सामाजिक सुरक्षा कनिका छरेजस्तै आयो,’ उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।