काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ ।
कोरोनाले बुधवार साँझ ललितपुर निवासी १ जनाको मृत्यु भएको हो । अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले ललितपुरको बुङ्गमतीका ५७ वर्षीय पुरुषको कोरोना कारण मृत्यु भएको पुष्टि गरेका छन् ।
‘रोग नियन्त्रण महाशाखाबाट मलाई खबर आयो । मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण नतिजा पोजेटिभ आयो, त्यसैअनुसार शव व्यवस्थापनको तयारी गर्नुस् भनिएको छ,’ डा. गेलालले भने, ‘हामीले शव अस्पतालमै राखेका छौं । कार्यविधिअनुसार शव व्यवस्थापनको काम हुन्छ ।’
ती व्यक्तिको स्वाब जीवित हुँदै संकलन गरिएको भएपनि रिपोर्ट निधन भएपछि आएको छ । नेपालमा कोरोनाले निधन भएका अधिकांश व्यक्तिको रिपोर्ट मृत्यु भएपछि आउने भएकाले सरकारको आलोचना हुने गरेको छ ।
मृतक व्यक्ति कलेजोका बिरामी थिए । उनी जेठ ११ गते अस्पताल भर्ना भएका थिए । उनको स्वाब जेठ १२ गते परीक्षणका लागि पठाइएको थियो ।
मृतकका ज्वाइँ राजीव शाक्यले कहीँकतै बाहिर नगएका उनीमा कसरी कोरोना संक्रमण देखियो भनेर अचम्म परेको बताएका छन् । ‘हामीले कोरोना संक्रमण देखिएको पुष्टि हुने आधिकारिक कागज मागेका छौं । तर दिएका छैनन्,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।