काठमाडौं – कोरोना भाइरसको चरित्र र रुपबारे विभिन्न अध्ययन अनुसन्धान भई नै रहेका छन् । तर सामान्यता कोरोना भाइरस एक व्यक्तिको सम्पर्कबाट अर्काे व्यक्तिमा सर्ने र २–३ हप्ताभित्र लक्षण देखाउने भनिन्छ ।
नेपालमा भने कोरोना भाइरसले एकपछि अर्काे अनौठो रुप देखाइरहेको छ । हालै बाहिरी जिल्ला र विदेश यात्राको कुनै इतिहास नभएका एक जना व्यक्ति डडेल्धुरामा पहिलो कोरोना संक्रमित हुँदा सबै अचम्ममा परे । त्यस्तै कोरोनाकै कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलालाई भाइरस संक्रमण कहाँ भएको थियो भन्ने खुलेको छैन ।
काठमाडौंका एक जना संक्रमित विदेशबाट आएको ७० दिनपछि संक्रमण पुष्टि भयो । तर ७० दिनसम्म सँगै बसेकी श्रीमतीमा संक्रमण देखिएन । सँगसँगै बसेका श्रीमान–श्रीमतीमध्ये श्रीमानमा मात्रै संक्रमण देखिनु पनि अनौठो थियो । कोरोना बुझिनसक्नु छ ।
यस्तै कोरोना अनौठो रुप रुकुमपूर्वमा देखिएको छ । मलेसियाबाट नेपाल पुगेको साढे २ महिनापछि संक्रमण पुष्टि भएको छ । मलेसियाबाट फागुन अन्तिम हप्तामा काठमाडौं आएका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । उनी रुकुम पूर्व जिल्लामा चैत ५ गते पुगेर चैत ६ गते घर पुगेका थिए ।
यसबीच उनमा कुनै लक्षण र संक्रमणको संकेत देखिएन । तर जेठ महिनाको मध्यतिर आएर उनमा संक्रमण देखिएको छ । विदेशबाट आएको यतिधेरै दिनपछि संक्रमण देखिएको यो अनौठो रुप हो ।
जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १४ का २३ वर्षीय संक्रमित युवा चैत ६ गते घर पुग्दा क्वारेन्टाइन निर्माण गरिएको थिएन । चैत ११ गतेदेखि मात्रै नेपालमा लकडाउन सुरू भएको थियो ।
क्वारेन्टाइन नबनेकाले उनी सोझै घर गएर बसेका थिए । लकडाउन सुरू भएसँगै विदेशबाट आएका व्यक्तिहरूको खोजी सुरू भएपछि जिल्ला स्वास्थ्य कार्यालयको टीमले उनलाई १४ दिन होम क्वारेन्टाइनमा राखेको थियो ।
जिल्ला फोकल पर्सन देविलाल पौडेलले वैशाख १२ गते पहिलो पटक आरडीटी टेस्ट गर्दा नेगेटिभ देखिएको बताए । आरडीटीको परीक्षणमा सर्वत्र आशंका व्यक्त भइरहेका बेला उनको सन्दर्भमा पनि आरडीटीले गल्ती गर्यो । उनी आरडीटी परीक्षणले ढुक्क भएर घर फर्किएपछि सामान्य रुघाखोकी र ज्वरोका लक्षणहरू देखा पर्न थाले । फेरि आशंका लागेर जेठ ८ गते स्वाब संकलन गर्दा उनीसहित रुकुमका ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा पहिलो पटक रुकुम पूर्वमा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।