जाजरकोट – अन्तर्जातीय प्रेमका विषयमा जनप्रतिनिधिकै संलग्नतामा भएको रुकुम पश्चिमको घटनालाई तोडमोड गर्न खोजिएको आरोप पीडित पक्षले लगाएका छन् ।
चौरजहारी नगरपालिकाको सोतीमा गत शनिवार भएको घटनालाई रुकुमका जनप्रतिनिधिले तोडमोड गर्न खोजेको भन्दै पीडितले न्याय पाउनेमा आशंका व्यक्त गरेका छन् ।
वडाध्यक्ष डम्बरबहादुर मल्लकै संलग्नतामा हत्याकाण्ड भएको र उनी पूर्व गृहमन्त्री जनार्दन शर्माको संरक्षणमा रहेकाले न्याय पाउनेमा पीडित परिवारले आशंका गरेका हुन् । सोतीका स्थानीय र केही जनप्रतिनिधिले नै लकडाउन उल्लंघन गर्दै हुल आएको र उमेर नपुगेकी केटीलाई जर्बजस्ती लिन खोजेकाले गाउँलेले नियन्त्रणमा लिने क्रममा भागदौड हुँदा भेरीमा खसेर ज्यान गएको बयान दिएका छन् । साथै उनीहरूले यो घटनालाई जातीयतासँग जोड्न नहुने भन्दै घटनालाई विषयान्तर गर्ने प्रयास गरिरहेको पीडितको भनाइ छ ।
तर कथित उपल्लो जातको भनिने ठकुरीकी छोरी तल्लो जातको भनिने दलितले लिन खोजेको भन्दै पूरै गाउँ नै उर्लिएर आक्रमण गर्दा ३ जनाको मृत्यु भएको हो । ३ जना अझै बेपत्ता छन् ।
मंगलवार संघीय संसद्मा रुकुमपश्चिमबाट निर्वाचित जनार्दन शर्माले पनि यो घटनाबारे सोही आशयको धारणा राखेपछि घटनामा संंलग्नलाई राजनीतिक संरक्षण गर्न खोजिएको पीडित परिवारको आशंकामा थप बल पुगेको हो । रुकुम प्रहरीले नै अनुसन्धान गर्ने र मुद्दा पनि जिल्ला अदालत रुकुममा नै दर्ता हुने भएपछि आशंका बढेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
मृतक नवराज विकका बुवा मोहनलालले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताए । बयान दिन रुकुम जाँदा झन्झिटिलो हुने र उतैबाट अनुसन्धान तथा मुद्दा चलाए चलखेल हुनसक्ने उनको आशंका छ । जाजरकोट प्रहरीले नै घटनाबारे अनुसन्धान गर्नुपर्ने र मुद्दा पनि जाजरकोटबाटै चलाइनुपर्ने उनीहरूले माग गरेका थिए । पीडितले माग सम्बोधन नहुँदासम्म शव नबुझ्ने अडान लिएका थिए । तर जुन जिल्लामा घटना भएको हो सोही जिल्लामा मुद्दा चल्ने कानूनी प्रावधान र स्थानीय प्रशासनले घटनाको सत्यतथ्य छानबिन गर्ने आश्वासन दिएपछि मंगलवार शव बुझ्न राजी भएका हुन् ।
पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जनाविरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बताए ।
दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएका हुन् । चौरजहारीका टीकाराम सुनारको शव पोस्र्टमार्टम गरिएको छ भने अन्य २ जनाको बुधवार पोस्र्टमार्टम गरिने पन्तले बताए । हराएका ३ जनाको खोजी कार्य भइरहेको उनले जानकारी दिए । भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, ४ का सन्दीप विक अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ ।
नवराजकी प्रेमिका चौरजहारी नगरपालिका ८ सोतीकी १७ वर्षीय सुष्मा मल्ललाई बेहुलीका रूपमा भित्र्याउन शनिवार १९ युवासहित गाउँ पुगेका बेला वडाध्यक्ष मल्लसहित सोतीका गाउँलेले आक्रमण गरेर लखेट्दा उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घेराबन्दीमा पारेर गाउँ नै उर्लेर आक्रमण गरेको घटनाबाट बाँचेर आएका युवाले बताए । उनीहरूले नवराज लगायतका केहीलाई कब्जामा लिएर हत्या गरी भेरीमा फालिदिएको र अन्यलाई भेरीमा पौडी खेल्ने क्रममै ढुंगा हानेर हत्या गरेको बताएका छन् ।
भेटिएका ३ शवमध्ये तीनै जनाको टाउकोमा गहिरो चोट लागेको र १ जनाको हातमा घरेलु हतियारको चोट रहेको भेरी नगरपालिका ४ का मौसम विकले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।