काठमाडौं – गाईलाई टुक्राटुक्रा पारेर बोरामा मासु राखी बेच्न लैजाने क्रममा कञ्चनपुरको पुनर्वास नगरपालिकामा १ भारतीय नागरिकसहित ३ जना पक्राउ परेका छन् ।
सोमवार राति गाई काटेर बोरामा मासु राखेर पुनर्वासबाट बेच्नका लागि डोकेबजारतर्फ लैजाँदै गरेको अवस्थामा आरोपीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज वकिलबहादुर सिंहले बताएका छन् ।
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश पीलीभीतका ३१ वर्षीय ऐजाज अहमत र पुनर्वास नगरपालिका–३ रामबस्तीकी ४५ वर्षीया माइली तामाङ तथा ३१ वर्षीया प्रेममाया तामाङ छन् ।
आरोपीको साथबाट २ बोरा मासुसहित भारतीय नम्बर प्लेटको यूपी २६ यू ५४४६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका भारतीय पुनर्वासको एक फर्निचर उद्योगका कामदार भएको प्रहरीले जनाएको छ । आरोपीमाथि थप अनुसन्धान भइरहेको सिंहले जानकारी दिएका छन् ।
बरामद मासु गाईको हो/होइन, परीक्षणका लागि त्यसको नमूना काठमाडौंस्थित विधिविज्ञान प्रयोगशालामा पठाउने तयारी प्रहरीले गरेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।