आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना भाइरसलाई कसरी जित्ने ? डिस्चार्ज भएकाहरूको उत्साहप्रद कथा !

कोरोना भाइरसलाई कसरी जित्ने ? डिस्चार्ज भएकाहरूको उत्साहप्रद कथा !

  • मिडिया डबली
  • बुधवार, जेठ १४ २०७७

  • 5.9K
    SHARES

  • कोरोना भाइरसलाई कसरी जित्ने ? डिस्चार्ज भएकाहरूको उत्साहप्रद कथा !

    काठमाडौं – कञ्चनपुरबाट आफन्तको गाडीमा काठमाडौं आएकी कञ्चनपुरकी ३३ वर्षीया महिलामा वैशाख ३० गते कोभिड–१९ पोजिटिभ देखियो ।

    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ दिनको उपचारपछि उनी ८ जेठमा डिस्चार्ज भइन् ।

    कञ्चनपुरमा संक्रमण देखिएकाले गाडीमा आएका ९ जनाले एपीएफ अस्पतालमा स्वाब परीक्षणका लागि नमुना दिएका थिए । उनीबाहेक सबैको रिपोर्ट नेगेटिभ देखियो ।

    ‘अझै पनि मलाई कोरोना संक्रमण भएको थियो भन्ने पत्यार लागेको छैन,’ उनी भन्छिन् ।

    ‘स्वास्थ्यमा ध्यान दिने र आत्मबल उच्च राख्ने हो भने कोरोनालाई सजिलै जित्न सकिन्छ । अहिले मानिसमा संक्रमणले निम्त्याउने जोखिमभन्दा कोरोनाप्रतिको मनोविज्ञानले धेरै असर पारिरहेको जस्तो लागेको छ,’ उनले भनिन् ।

    उनलाई रुघाखोकीसम्म लागेको थिएन । त्यसैले, आफ्नो रिपोर्ट पनि नेगेटिभ आउने आशा गरेकी थिइन् । टेकु अस्पतालको आइसोलेसनमा बसेको चार दिनपछि गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आयो । छिट्टै कोरोना भाइरसको प्रभाव नदेखिएपछि उनको आत्मबल बढ्यो ।

    त्यसपछि गरिएका थप परीक्षणमा उनले कोरोना भाइरसलाई पराजित गरिन् । ‘यस भाइरसलाई सजिलै जित्न सकिनेरहेछ भन्ने आत्मविश्वास पलाएको छ,’ उनी भन्छिन्, ‘१ जनामा कोरोना देखिएपछि आसपासका अरूमा पनि सर्छ भन्ने कुरासमेत सत्य होइन रहेछ ।’

    काठमाडौं आएपछि पनि २ दिन उनी परिवारसँग बसेकी थिइन् । परिवारका अन्य सदस्यमा कोभिड–१९ नेगेटिभ देखिएको छ । ‘स्वास्थ्यमा ध्यान दिने र आत्मबल उच्च राख्ने हो भने कोरोनालाई सजिलै जित्न सकिन्छ,’ उनी भन्छिन्, ‘अहिले मानिसमा संक्रमणले निम्त्याउने जोखिमभन्दा कोरोनाप्रतिको मनोविज्ञानले धेरै असर पारिरहेको जस्तो लागेको छ ।’

    नेपालमा हालसम्म कोभिड–१९ पोजिटिभ देखिएकामध्ये १५५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर उपचारपछि अस्पतालबाट घर फर्किसकेका छन् ।

    गत बैशाख २९ गते सुनसरीबाट काठमाडौं आएकी थिइन्, अर्की २५ वर्षीया युवती । उनको पनि पीसीआर रिपोर्ट पोजिटिभ आयो । कामको सिलसिलामा उनले सुनसरी जानैपर्ने भयो र गइन् । फर्किंदा ‘कोरोना पोजिटिभ’ देखिएला भनेर सोचेकी पनि थिइनन् ।

    काठमाडौंमा एक स्वास्थ्य संस्थामा काम गर्ने उनी १० दिन टेकु अस्पतालमा उपचारपछि डिस्चार्ज भएकी छिन् । उनको ‘कन्ट्याक्ट ट्रेसिङ’का क्रममा परिवारका सदस्य र अन्य व्यक्ति सबैको परीक्षण गरियो । सबैको रिपोर्ट नेगेटिभ आयो ।

    ‘बिरामीसँग नियमित सम्पर्कमा रहनुपर्ने भएकाले उनीहरूको समेत सुरक्षा विचार गरेर काठमाडौं आउनासाथ कोभिड–१९ जाँच गराइहालें र रिपोर्ट नआउन्जेल अस्पतालको आइसोलेसनमा बसें,’ उनी भन्छिन्, ‘रिपोर्ट पोजिटिभ देखिएपछि अस्पतालमा उपचार सुरू भयो । मलाई कुनै लक्षण देखिएको थिएन र अस्पताल बस्दा टाउको दुखेको औषधिसम्म प्रयोग गर्नुपरेन ।’

    कोभिड–१९ को महामारीलाई सजिलै परास्त गर्न सकिने आत्मबल प्राप्त गरेकी छिन् उनले । ‘संक्रमण देखिइहाल्यो भने पनि आत्तिनु हुँदैन,’ उनी भन्छिन्, ‘परिवारका सदस्यले बिरामीको आत्मबल र रोग प्रतिरोधात्मक क्षमता बढाउने कुरामा ध्यान दिनुपर्छ । कोरोनाबारेको भ्रम हटाउन जरुरी छ ।’ संक्रमणलाई जित्न बिरामीको मनोबलकै भूमिका मुख्य हुने उनको ठम्याइ छ ।

    ‘आइसोलेसनमा बस्दा आफ्नो स्वास्थ्यमा देखिने हरेक परिवर्तनको ख्याल राख्ने, सरसफाइमा ध्यान दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाने र सकिन्छ भने व्यायाम गर्ने गर्नुपर्छ,’ उनले भनिन् ।

    अस्पतालको आइसोलेसनमा बस्दा बालबालिका र ज्येष्ठ नागरिकलाई भने गाह्रो हुने उनी बताउँछिन् । ‘बिरामीले आफैँ ज्वरो नाप्ने, अक्सिजनको मात्रा हेर्ने र फोनबाटै स्वास्थ्यकर्मीबाट सल्लाह लिनुपर्छ,’ उनी भन्छिन्, ‘आफ्नो स्याहार आफैं गर्न नसक्ने, आत्मविश्वास कायम गर्न नसक्नेका लागि विशेष स्याहारको आवश्यकता हुँदो रहेछ ।’ एउटा कोठामा एक्लै बस्नुपर्ने भएकाले पनि बिरामीमा मानसिक दबाब सिर्जना हुने उनी बताउँछिन् ।

    कैलाली धनगढीका ३४ वर्षीय युवक ८ चैतमा युनाइटेड अरब इमिरेट्सबाट घर फर्केका थिए । घर आउनासाथ परीक्षण गरेको ३ दिनपछि उनमा कोभिड–१९ पोजिटिभ देखियो । नेपालमा कोरोना भाइरसको संक्रमण देखिने उनी तेस्रो व्यक्ति थिए । चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका उनी २९ दिनपछि निको भएर घर फर्किए । ‘सुरूमा के होला भन्ने चिन्ता थियो, बिस्तारै लक्षण कम हुँदै गएअनि आत्मविश्वास जाग्यो,’ उनी भन्छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    पहिलो रिपोर्ट पोजिटिभ आउँदा उनमा खोकी लाग्ने समस्या थियो । अस्पताल पुगेपछि एलर्जीका कारण खोकी लागेको पुष्टि भयो । अस्पताल बसाइमा उनलाई पखालाको समस्या पनि देखियो । तर त्यो पनि औषधिबाट ठीक भयो । ‘त्यसैले कोरोनाको उपचार छैन भनेर चिन्ता गर्नुपर्ने कुनै कारण छैन,’ उनी भन्छन्, ‘आइसोलेसनमा बस्दा आफ्नो स्वास्थ्यमा देखिने हरेक परिवर्तनको ख्याल राख्ने, सरसफाइमा ध्यान दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाने र सकिन्छ भने व्यायाम गर्ने गर्नुपर्छ ।’

    कोरोना संक्रमणले भन्दा त्यसका कारण मानिसमा देखिने चिन्ताले जटिलता ल्याउने उनी बताउँछन् । भन्छन्, ‘आत्मविश्वास र रोग प्रतिरोधात्मक क्षमता बढाउने हो भने कोरोना संक्रमण सजिलै जित्न सकिन्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ १४ २०७७०१:५२:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend