काठमाडौं–सशस्त्र प्रहरीले हालसम्म १ सय २३ स्थानमा बोर्डर पोष्ट स्थापना गरेको छ । यो वर्षभित्र २ सय २१ पुर्याउने लक्ष्य छ तर अधिकांश ठाउँ विशेषगरी उच्चपहाडी भूभागमा भौतिक पूर्वाधारको निर्माण सबैभन्दा ठूलो चुनौती बनेको छ । सशस्त्रले जसरी पनि यो वर्षभित्र दुई सयको हाराहारीमा बोर्डर पोष्ट पुर्याउनै पर्नेछ ।
दार्चुलाको छाङ्गरुमा गत साता नै पोष्ट खडा गरिएको छ । हिजोदेखि छाङ्गरुबाट सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आन्तरिक सञ्चार सेटबाट सोझै कुराकानीसमेत हुन थालेको छ । अहिले भाडाको घरमा बसेको सशस्त्रलाई छाङ्गरुमा पोष्ट खडा गर्न सरकारले ११ करोड बजेट दिएको छ ।
आगामी कात्तिकसम्म ब्यारेक बनाउने तयारीस्वरूप भवन निर्माणको टेण्डर आह्वान गरिएको छ । ब्यारेक बनेपछि त्यहाँ १ सय ६० जनासम्म सशस्त्र प्रहरी रहनेछन् । अहिले २५ जनाको सिम्बोलिक उपस्थिति मात्रै रहेको स्रोतले बताएको छ । राज्यले सबैथोक आपूर्ति गर्न सके भोलिका दिनमा त्यहाँ बटालियन नै राख्न सकिने अवस्था पनि छ ।
उता,भारतले नजिकैको बोर्डरमा सेना राखेकाले हाम्रो तर्फबाट काउण्टर उपस्थितिको लागि भएपनि छाङ्गरुमा नेपाली सेना नै राख्नुपर्ने आवाज उठ्न थालेको छ । छाङ्गरुको उत्तर पश्चिम भेगमा बनाइएको घोडेटो बाटो पहिरोले रोकिएपछि साढे चार सय मीटर क्लियर गर्न नेपाली सेनाको एउटा प्राविधिक टोली त्यहाँ पुगेको छ ।
स्रोतकाअनुसार कालापानीबाट १८ किलोमिटर पूर्व रहेको छाङ्गरु नजिकै पनि भारतीय सुरक्षाकर्मीको बाक्लो गतिविधि देखिएको छ । उताका सेनाको एउटा डफ्फा छाङ्गरुदेखि मुश्किलले ७ किलोमिटर नजिकै बसेको छ । नजिकै देखिने छाङ्गरु पारीको सीतापुलमा बोर्डर सेक्युरिटी फोर्स ९बीएसएफ० को बटालियन छ ।
पिथौरागढमा मात्रै भारतीय एसएसबीको दुईवटा बटालियन छ । त्यहाँ भारतीय सेनाको दुईवटा रेजिमेण्ट र इण्डो टिबेट बोर्डर पुलिसको एउटा बटालियन पनि राखिएको छ । धार्चुलाभन्दा उत्तरतर्फ मात्रै एसएसबीको १० देखि १२ वटा पोष्ट खडा गरिएको छ । नेपाली भूमि ओगटेको कालापानीमा आईटिबीको ब्यारेक नै छ ।
२०६०–०६१ सालसम्म दार्चुला र अन्य जिल्लाका नेपालीहरू लिपुलेक र लिम्पियाधुरा दुबै नाकाबाट चीन जाउआउ गर्थे । त्यसपछि भारतले ती नाका भएर आउजाउ गर्न नेपालीहरूमाथि पूर्ण रोक लगायो । अहिले नेपालीहरू तिंकर नजिकैको एक नं. पिल्लरलाई छेउ लगाएर हिँड्न बाध्य छन्। जनआस्था साप्ताहिक
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।