काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाममा विश्व स्वास्थ्य संगठनले गलत भूमिका खेलेको भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित थुप्रै देशले आलोचना गरिरहेका छन् ।
यस्तो आरोप लागिरहेका बेला धेरैको मनमा प्रश्न उठ्न सक्छ – चीन र डब्ल्यूएचओबीच त्यस्तो कनेक्सन के छ ? जसले गर्दा डब्ल्यूएचओले चीनको पक्ष लिएको होस् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मेलमा प्रकाशित एक प्रतिवेदनले यसबारे खुलासा गरेको छ । प्रतिवेदन अनुसार डब्ल्यूएचओको वेबसाइटमा राखिएको सद्भावना दूत पेन लियुआनको परिचयमा उनी चिनियाँ राष्ट्रपति शी चिनफिङको पत्नी भएको भनेर कुनै उल्लेख गरिएको छैन । जसले गर्दा कनेक्सनप्रति शंका बढाएको रिपोर्टमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनले सद्भावना दूत अन्तर्गत आफ्नो वेबसाइटमा ९ व्यक्तिको नाम लेखेको छ । जब पेन दूतमा निर्वाचित भइन्, तत्कालीन डब्ल्यूएचओ प्रमुख मार्गरेट चानले पेन विश्व प्रसिद्ध आवाज र असल हृदयकी महिला भएको बताए ।
चिनियाँ राष्ट्रपति सीकी पत्नी पेनलाई पहिलो पटक सन् २०११ मा दूत चयन गरिएको थियो । पछि उनी नयाँ डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहेनम घेब्रियेसुसद्वारा पनि नियुक्त भएकी थिइन् ।
बेलायतका सांसद र विदेश मामिला समितिका अध्यक्ष टम टीले भने, ‘यस्तो लाग्छ कि सद्भावनाको परिभाषा बढाइएको छ । डब्ल्यूएचओले त्यस्ता व्यक्तिहरू छान्नु पर्छ, जसले वास्तवमा जनताको अधिकारमा काम गर्दछन् र जसको काममा शंका गर्दैन । राजनीतिक रुपमा नियुक्ति दिनु हुँदैन ।’

पेनले सन् १९८७ मा चिनफिङसँग दोस्रो पत्नीको रुपमा विवाह गरेकी थिइन् । सी चिनफिङ त्यतिबेला चीनको जियामेनका डेप्टी मेयर थिए र उनको पहिलो पत्नीबाट सम्बन्धविच्छेद भएको थियो ।
डब्ल्यूएचओ वेबसाइटमा पेनबारे लेखिएको छ, ‘संगठनका निर्देशक (तत्कालीन) मार्गरेट चानले प्रसिद्ध चिनियाँ गायक र अभिनेत्री पेन लियुआनलाई टीबी र एचआईभी/एड्सका लागि सद्भावना दूत नियुक्त गरे । पेन पीपुल्स लिबरेसन आर्मीको राजनीतिक विभागको चिनियाँ गीत र नृत्य समूहको प्रमुख हुन् । उनले सिभिल सर्भिसमा मेजर जनरल र मिलिटरीमा मेजर जनरलको पद धारण गरेकी छन् । पेन स्वास्थ्य, टीबी र एचआईभीको नियन्त्रणको लागि दृढ वकालत गर्छिन् । सन् २००६ मा पेनलाई चीनमा एचआईभी र एड्स रोकथामका लागि स्वास्थ्य राजदूत बनाइयो र २००७ मा टीबी नियन्त्रण र रोकथामका लागि राष्ट्रिय राजदूत पनि बनाइयो ।’
अमेरिका लगायत धेरै देशले कोरोना रोकथाममा डब्ल्यूएचओको भूमिका शंकास्पद रहेको आरोप लगाइरहेका छन् । संगठनले चीनको इशारामा काम गरेर कोरोना भाइरसलाई विश्वभर फैलाउन सहयोग गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोप छ । यस्तो बेला चिनियाँ राष्ट्रपति सीकी पत्नी पेनको डब्ल्यूएचओसँग रहेको कनेक्सनको खुलासा भएको छ ।
डेली मेलको समाचारमा अमेरिकी र जर्मन खुफिया एजेन्सीलाई उदृत गर्दै लेखिएको छ, ‘चिनियाँ राष्ट्रपतिले डब्ल्यूएचओ प्रमुखलाई कोरोना सम्बन्धी जानकारी रोक्न भन्यो ।’ तर डब्ल्यूएचओले भने यस्ता आरोपलाई अस्वीकार गर्दै आएको छ । डब्ल्यूएचओसँग पेनको सम्बन्धले संगठनमा गम्भीर प्रश्न खडा गर्ने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।