काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको र हालसम्म आफूलाई कोरोना भाइरस संक्रमण नभएको दाबी गर्दै अरुलाई पनि यही औषधि सेवन गर्न दिएको सुझावमाथि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अस्थायी प्रतिबन्ध लगाएको छ ।
डब्ल्यूएचओले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको हो ।
कोरोनासँग बच्न भनेर जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको छ, त्यहाँ मृत्युको खतरा धेरै रहेको निष्कर्षयुक्त एक अनुसन्धान रिपोर्ट हालै साइन्स जर्नल ‘ल्यासेन्ट’मा प्रकाशित भएको छ ।
अध्ययन निष्कर्ष सार्वजनिक भएपछि डब्ल्यूएचओको सोलिड्यारिटी ट्रायल (डब्ल्यूएचओको निगरानीमा भइरहेको कोरोना क्लिनिकल ट्रायल)को कार्यकारी समूहको बैठक बसेको थियो । १० सदस्य देशका प्रतिनिधि रहेको समूहको बैठकपछि हाइड्रोक्सिक्लोरोक्विन औषधिसँग सम्बन्धित विश्वभर भइरहेको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक्ने निर्णय डब्ल्यूएचओले गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो औषधि प्रयोग गर्दाको नतिजा पनि विश्लेषण गर्ने निर्ण यसमेत भएको जनाइएको छ ।
हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विन औषधिको प्रयोग मलेरिया र लुपस जस्तो अटोइम्युन बिरामीमा प्रयोग गरिने भएपनि कोरोना भाइरसको महामारी फैलिएपछि कतिपय देशमा कोरोनाका बिरामीलाई र कोरोना संक्रमण नभइसकेकालाई पनि दिइएका समाचारहरू सार्वजनिक हुँदै आएका छन् ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको डब्ल्यूएचओले हाइड्रोक्सिक्लोरोक्विन औषधिको जथाभावी प्रयोग भएकोमा चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओका निर्देशक डा. टेड्रोसले सोमवार भने, ‘यो औषधिको सुरक्षित प्रयोगको बारेमा डेटा सेफ्टी मनिटरिङ बोर्डले अध्ययन गर्ने छ । साथै यस औषधिसँग सम्बन्धित विश्वभर भइरहेको प्रयोगको व्यापक विश्लेषण पनि गरिने छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।