काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण नेपालमा बढ्ने क्रम जारी छ । सरकारले संक्रमण नफैलियोस् भनेर सीमा नाका सिल गर्नेदेखि अनेकौं प्रयास गर्दै आएको छ ।
कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पनि उपत्यकामा संक्रमणको जोखिम बढ्ने औंल्याएपछि गृह मन्त्रालयले उपत्यकाका नाका समेत सिल गरेको हो । तर सवारीसाधन र सर्वसाधारण उपत्यका छिर्ने र बाहिरिने क्रम रोकिएको छैन ।
विभिन्न नाकाबाट दैनिकजसो ३ हजारको संख्यामा यात्रु र १५ सयभन्दा बढी सवारीसाधन उपत्यकामा भित्रिँदै आएका छन् । त्यसैगरी दैनिक ३ हजार ५०० यात्रु र १ हजार ४०० सवारीसाधन बाहिरिँदै आएका छन् ।
पछिल्ला दिनमा सरकारले यात्रु भित्रिने र बाहिरिनेमा केही कडाइ गरेको देखिन्छ । गत चैत ११ देखि जेठ १० गतेसम्मको यात्रु र सवारीसाधन भित्रिने र बाहिरिने आँकडा हेर्दा १ लाख ५३ हजार ५८७ यात्रु उपत्यका भित्रिएका छन् । २ लाख ५२ हजार २१ जना बाहिरिएको प्रहरी तथ्यांकले देखाउँछ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सबैभन्दा बढी वैशाख २९ र ३० गते यात्रु भित्रिएका थिए । वैशाख २९ गते ७ हजार ४३२ र ३० गते ७ हजार ९४५ जना उपत्यकामा भित्रिएको देखिन्छ । त्यसैगरी वैशाख १, १०, ११, १३, १४ गते धेरै यात्रु उपत्यकाबाट बाहिरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलका अनुसार यो मितिमा १ गते १५ हजार १६५, ११ गते १७ हजार २७९, १३ गते १२ हजार ४१३ र १४ गते १ हजार ७०७ जना उपत्यकाबाट बाहिरिएको अभिलेख छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
‘प्रहरीको आँखा छलेर रातारात पैदल हिँड्ने यात्रु यो अभिलेखमा जोडिएको छैन,’ डीआईजी पोखरेलले भने, ‘अधिकांश पास भएका र अत्यावश्यक कामले भित्रिएका र बाहिरिएका यात्रुको अभिलेख समावेश गरिएको छ ।’
उनका अनुसार ४० लाख जनसंख्या रहेको उपत्यकामा यति संख्यामा यात्रु भित्रिनु र बाहिरिनु नौलो होइन । पैदल यात्री भने लकडाउन अवधिमा १८ हजार १११ जना मात्रै बाहिरिएको अभिलेख प्रहरीसँग छ । तर लुकीछिपी पैदल यात्रु धेरै उपत्यका ओहोरदोहोर गरेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले जेठदेखि जथाभावी पास वितरणमा रोक लगाइएपछि उपत्यका भित्रिने यात्रुको संख्यामा कमी आएको बताए । प्रहरी तथ्यांकअनुसार जेठ १ देखि १० गतेसम्ममा उपत्यकामा ३० हजार २८९ जना यात्रु भित्रिएका छन् । सोही मितिमा ३० हजार ९८८ जना बाहिरिएका छन् । सवारी साधनको हकमा सोही मितिमा १६ हजार ६९८ वटा भित्रिएका छन् । बाहिरिनेको संख्या १६ हजार ६३४ छ ।
प्रवक्ता शर्माको दाबीलाई मान्ने हो भने बैशाख २२ देखि ३१ गतेसम्म ५१ हजार ६५५ जना राजधानी भित्रिएका छन् । ५१ हजार ८०८ जना बाहिरिएका छन् ।
सवारीसाधनको हकमा बैशाख २२ देखि ३१ गतेसम्म २२ हजार ९२० वटा भित्रिएका थिए । २१ हजार २९४ सवारीसाधन बाहिरिए । प्रहरीकै तथ्यांकअनुसार पनि यात्रु भित्रिने संख्यामा सुधार आएको जानकारी प्रवक्ता शर्माले दिए । ‘अहिले लकडाउनलाई धेरै कडाइ गरिएको छ । विना पासका सवारीलाई होल्ड गरेर राखेका छौं,’ उनले भने, ‘अत्यावश्यक कामबाहेकका सर्वसाधारणलाई पास विना उपत्यका भित्रिन दिएका छैनौं । सवारीको हकमा पनि पास अत्यावश्यक गरिएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।