काठमाडौं – कोरोना भाइरस संक्रमण र लकडाउनको अनिश्चितताका बीच माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने/नहुने अन्योल रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा नहुने संकेत गरेका छन् ।
राष्ट्रका नाममा गरिएको सम्बोधनमा ओलीले सोमबार साँझ तत्काल एसईई परीक्षा सञ्चालन हुन नसक्ने र शिक्षा मन्त्रालयले छिट्टै व्यवस्था गर्ने बताएका छन् ।
कोरोना रोकथामका लागि परीक्षा सञ्चालनको पूर्व सन्ध्यामा स्थगित भएको एसइई परीक्षा तत्काल सञ्चालन गर्न सम्भव नभएको ओलीले बताएका छन् ।
परीक्षा सञ्चालन हुन सम्भव नभएपनि एसइईको वार्षिक क्यालेन्डर खेर जान नदिन शिक्षा मन्त्रालयले छिट्टै व्यवस्थापन गर्ने समेत उनले बताए ।
प्रधानमन्त्री ओलीको यस भनाईलाई परीक्षा सञ्चालन नभएर केही छुट्टै व्यवस्थापन हुने संकेतका रुपमा बुझिएको छ ।
शिक्षा मन्त्रालयले एसईईको छुट्टै व्यवस्थापन कसरी गर्छ भनेर खुलाइएको छैन । केही हस्ताअघि शिक्षा मन्त्रालयले परीक्षा थपेर परीक्षा सञ्चालन गर्न सकिन्छ कि भनेर अध्ययन गरेको थियो । तर कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि शिक्षा मन्त्रालयको प्रयास सफल हुन सकेन । प्रधानमन्त्री ओलीका अनुसार शिक्षा मन्त्रालयले छिट्टै एसईईको व्यवस्थापनबारे विद्यार्थीलाई जानकारी दिनेछ ।
प्रधानमन्त्री ओलीले अन्य कक्षाहरूको पठनपाठनका लागि भर्चुअल विधिबाट गर्नका लागि पनि शिक्षा मन्त्रालयले नीतिगत व्यवस्था मिलाउने जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।