काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणमा धेरै ठूला कुरा गर्छन् । तर उनलाई देशको अवस्थाबारे सामान्य ज्ञान समेत नभएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणबारे जानकारी दिँदै नेपालमा मृतकको संख्या ४ पुगेको पुष्टि गरे । उनले अपराह्न ४ बजे दैनिकजसो कोरोना अपडेटबारे जानकारी दिने गर्छन् ।
मन्त्रालयका प्रवक्ताले मृतकको संख्या ४ पुगेको पुष्टि गरेको डेढ घण्टापछि साँझ साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाबाट मृतकको संख्या ३ रहेको बताए ।
जेठ ४ गते मृत्यु भएका बाराको कलैला–७ का पुरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएकोबारे प्रवक्ताले अपराह्न सार्वजनिक गरेपनि सरकारी संयन्त्रभित्र बिहानैदेखि गाईगुई चलिरहेको थियो । सरकारी स्रोतलाई उदृत गर्दै कतिपय सञ्चारमाध्यमले बिहानै मृतकको संख्या ४ पुगेको समाचार प्रेषित गरेका थिए ।
तर प्रधानमन्त्री यी सबै घटनाक्रमबाट बेखबर देखिए । सोमबार साँझ बालुवाटारबाट राष्ट्रका नाममा ओलीले गरेको सम्बोधनमा ३ जनाको मात्रै मृत्यु भएको उल्लेख गरियो । कोरोनाबाट मृत्यु हुनु ठूलै चर्चाको विषय भएपनि मिडियामा प्रचारप्रसार भइसक्दा समेत प्रधानमन्त्री ओलीले यसबारे पत्तै पाएनन् ।
यसरी देशका मुख्य घटनाक्रमको सामान्य ज्ञान समेत नराख्ने प्रधानमन्त्री ओलीले बालुवाटारमा के गरेर बस्छन् भनेर सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ ।
हालसम्म बारा, सिन्धुपाल्चोक, बाँके र गुल्मीका संक्रमित गरी ४ जनाको मृत्यु भएको छ । केही दिनअघि प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भू–भाग लिपुलेकमा सडक बनाएको समेत थाहा नभएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीलाई देशको सामान्य ज्ञान समेत नहुने गरेको सोमबार दोस्रोपटक पुष्टि भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।