काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण धेरै फैलिएपछि बाँकेको नरैनापुर गाउँपालिकामा आज रातिदेखि सेना परिचालन गर्ने निर्णय भएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले आज आईतबार राति ८ बजेदेखि नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमितहरू दिनदिनै थपिने क्रम बढ्दै गएकाले नरैनापुरमा सेना परिचालन गरेर अनिश्चितकालका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन् ।
अत्यावश्यक सवारीसाधन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी बाहेकलाई हिँडडुल गर्न नदिने गरी निषेधित क्षेत्र तोकिएको छ । जिल्ला सुरक्षा समितिको आईतबार बसेको बैठकले गाउँपालिकामा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि पठाउने निर्णय गरेको उपाध्यायले बताएका छन् ।
नरैनापुरमा कोरोना संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा अवरोध हुने र भगाउने कार्य हुन थालेपछि नरैनापुर झन् जोखिममा देखिएको छ । भारतबाट स्थानीयहरू आउने क्रम बढ्दै जाँदा क्वारेन्टाइनमा बस्नेहरूको संख्या समेत बढेको छ ।
नेपालमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएको गाउँ नरैनापुर नै बनेको छ । बाँके जिल्लामा देशभरकै सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन् । नरैनापुरमा मात्रै हालसम्म संक्रमितको संख्या ११४ पुग्दा १ जनाको क्वारेन्टाइनमै मृत्युु भएको छ ।
आईतबार साँझसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६०३ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ । अस्पतालमा उपचारपछि निको भएर ८७ जना घर फर्किसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।