काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला यशूको नाम लिएर रोग निको पार्ने भन्दै भ्रम फैलाउने क्रिस्चियन पास्टर केशव आचार्य कारागार चलाउन भएका छन् ।
चर्चमा भेला गराई रुमालले हानेर कोरोना भाइरस मार्छु भन्दै अफवाह फैलाएको भिडियो भाइरल भएपछि पास्टर आचार्य पक्राउ परेका थिए । आचार्यलाई डोल्पा जिल्ला अदालतले कारागार चलान गरेको हो ।
यसअघि कास्की जिल्ला अदालतबाट गत बैशाख ३१ गते धरौटीमा रिहाइ भएका आचार्यलाई पक्राउ गरेर प्रहरीले डोल्पा पुर्याएको थियो । जिल्ला प्रहरी कार्यालय डोल्पाले गरेको अनुसन्धानका आधारमा पास्टर आचार्यलाई डोल्पा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका इन्सपेक्टर हरिराम डाँगीले बताएका छन् ।
पास्टर आचार्यले जिल्ला अदालत कास्कीमा पेश गरेको बयान र आचार्यको मोबाइल फोनभित्र रहेको फोटो र भिडियो अनुसार जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी प्रतिवेदन तयार गरी पास्टर आचार्यलाई डोल्पा लगेर अनुसन्धान गरिएको थियो ।
डोल्पा जिल्लामा गएर भ्रामक प्रवचन सुनाएको फोटो र भिडियोको प्रमाण र पास्टर आचार्यले कास्की जिल्ला अदालतमा दिएको बयानलाई आधार मानेर धर्म परिवर्तनको आरोपमा डोल्पा प्रहरीले पास्टर आचार्य पुगेको गाउँमा पुगेर धर्म परिवर्तन सम्बन्धी प्रहरी प्रतिवेदन तयार पारेको छ । प्रहरी प्रतिवेदन अनुसार उजुरी जाहेरी गरेपछि आचार्यलाई अनुसन्धानपश्चात धर्म परिवर्तन सम्बन्धी जिल्ला अदालत डोल्पामा मुद्दा दर्ता गरेको र अदालतले कारागार चलान गरेको इन्सपेक्टर डाँगीले जानकारी दिए ।
कास्कीको पोखरास्थित प्रशस्त कटनी मण्डलीका पास्टर आचार्यलाई पोखरा महानगरपालिका–२९ पावर हाउसबाट धर्मको नाममा कोरोना भाइरसबारे भ्रामक सन्देश फैलाएको भन्दै कास्की प्रहरीले गत चैत्र ११ गते पक्राउ गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।