काठमाडौं – प्रतिनिधिसभा निर्वाचनताका नेपाली कांग्रेसका मतदाताको मत पाएर सांसदमा निर्वाचित भएका डा. बाबुराम भट्टराईले जितेपछि कांग्रेसमाथि नै अनेक आरोप लगाए । पटक–पटक कांग्रेसको आलोचना गर्दै थुप्रै अभिव्यक्ति दिए ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी तत्कालीन संघीय समाजवादी पार्टीसँग पार्टी एकीकरण गरेर डा. बाबुराम भट्टराई सत्तारुढ दलका नेता समेत भए । अहिले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) नेता डा. भट्टराई अन्ततः घुमिफिरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै शरणमा आउनुपरेको छ ।
डा. भट्टराईको पार्टी जसपाका नेताहरूले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । भेटमा नेताहरूले संविधान संशोधन गर्दा मधेशको माग सम्बोधन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संविधान संशोधनको सहमति गरेर सरकारमा सहभागी भएका मधेशवादी नेताहरू ओलीले धोका दिएपछि देउवाको शरणमा पुगेका हुन् ।
ओली सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्दै संविधानको अनुसूची–३ मा रहेको निशान छाप संशोधन गर्न विधेयक संसद सचिवालयमा दर्ता गराएको छ । यही बेला आफूहरूले उठाउँदै आएको संविधान संशोधनको मागलाई पनि सम्बोधन गर्नुपर्ने माग जसपाका नेताहरूले देउवासमक्ष राखेका छन् ।
सभापति देउवासँग भएको भेटपछि नेता राजेन्द्र महतोले अनुसूची संशोधन गर्ने प्रस्ताव ठीक भएपनि मधेशका जनताले उठाएका मागलाई पनि प्याकेजमा सम्बोधन गर्नुपर्ने बताए । जवाफमा देउवाले पार्टी पदाधिकारीको बैठक राखेर छलफल गर्ने आश्वासन दिएका जनाइएको छ । मधेश केन्द्रित दलले नयाँ सविधान जारी भएदेखि नै संविधान संशोधनको माग गर्दै आएका छन् । कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएको बेला संशोधन प्रस्ताव दर्ता भएपनि पारित हुन सकेको थिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।