काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा कोरोना भाइरस संक्रमणको महामारी फैलिँदै गएपछि नेपाली कांग्रेसले बालुवाटारको ढोका ढक्ढक्याएको छ ।
झापाका कांग्रेस नेताहरूले जिल्लामा कोरोना संक्रमितको उपचार र क्वारेन्टाइनस्थलको राम्रो व्यवस्थापन गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् । क्वारेन्टाइनस्थल मापदण्ड अनुसार सञ्चालन नहुँदा कोरोना संक्रमण फैलिएको स्थानीय नेताको निष्कर्ष छ ।
शनिवार झापाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाउँदै कांग्रेसका स्थानीय नेताहरूले सरकारको ध्यानाकर्षण गराए । झापाको कचनकवल गाउँपालिका लगायत सीमा क्षेत्रमा कोरोना संक्रमण फैलिँदै गएको भन्दै संक्रमितको उपचार र क्वारेन्टाइनस्थल मापदण्डअनुसार सञ्चालन गर्न कांग्रेसको माग छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति, महासमिति सदस्य भूमि राजवंशी, सीताराम खड्का, कालेन्द्रसिंह राजवंशी, गीताप्रसाद भट्टराई, चिन्तामणि खरेल र तुलाराम अधिकारीले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएका छन् । कचनकवल गाउँपालिकाका पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय र महेन्द्ररत्न माविका क्वारेन्टाइनमा मापदण्ड पालना नगरिएको नेताहरूले जनाएका छन् ।
क्वारेन्टाइनस्थलमा बस्ने ३३ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भई उपचारका निम्ति विराटनगर र धरानका अस्पतालमा राखिएको छ । एउटै गाउँपालिकामा यतिधेरै संख्यामा कोरोना संक्रमणको पुष्टि भइसक्दा समेत अझैसम्म क्वारेन्टाइनमा बस्ने ठूलो संख्याका व्यक्तिको पीसीआर परीक्षण गर्न स्वाब संकलनसम्म नगरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
‘यस्तो भयावह स्थितिका सम्बन्धमा गाउँपालिका र सम्बन्धित स्वास्थ्यकर्मीसँग बुझ्दा स्वाब संकलनका लागि आवश्यक किटको अभाव रहेको जवाफ निजहरूबाट पाइएको छ,’ ज्ञापनपत्रमा भनिएको छ ।
हेर्नुस् ज्ञापनपत्र –




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।