काठमाडौं – नेपालको छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमित ह्वात्तै बढेको छ ।
पछिल्ला केही दिनयता बढ्दै गइरहेको संक्रमण १ लाख २५ हजारभन्दा बढी व्यक्तिमा पुष्टि भएको छ ।
शुक्रबार एकैदिन ६ हजार ५६८ जना संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै उच्च हो ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ७२६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १४२ जनाको मृत्यु भएको छ ।
कोराना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले भारतमा मार्च २४ देखि सुरू भएको लकडाउन ३१ मेसम्म पुर्याइएको छ । लकडाउन घोषणा भएपनि भारतका विभिन्न क्षेत्रमा रेलसेवा र यातायात सेवा सञ्चालनमै रहेका कारण झन् खतरा बढ्दै गएको जानकारहरू बताउँछन् ।
भारतमा संक्रमितको संख्या दिनदिनै बढ्दै गइरहेका बेला नेपालमा समेत कोरोना भाइरसको खतरा देखिएको छ । भारतबाट संक्रमित भएर स्वदेश फर्किने नेपालीका कारण नेपालमा खतरा देखिँदै आएको छ । भारतमा महामारी फैलिए धेरै नेपाली स्वदेश फर्किन चाहने र संक्रमित भएर आउनसक्ने खतरा देखिएको छ ।
हाल पनि धेरै नेपाली सीमा क्षेत्रबाट नेपाल प्रवेश गरिरहेका छन्, जसमध्ये केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । नेपालमा कोरोना संक्रमण देखिएका अधिकांश व्यक्ति भारतबाट फर्केकाहरू रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि संसद बैठकमा बोल्दै भारतबाट आएको कोरोना भाइरस कडा रहेको र भारतबाट खतरा रहेको संकेत गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।