काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्व राज्यमन्त्री दूर्योधनसिंह थारु चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्व राज्यमन्त्री चौधरीको शुक्रबार बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा ७० वर्षको उमेरमा निधन भएको छ ।
सभापति देउवाले शोक वक्तव्यमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
स्व. चौधरीले कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताएका छन् ।
स्व. चौधरी २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विक्रम संवत् २०५६ सालमा संसदमा निर्वाचनपछि चौधरी स्थानीय विकास राज्यमन्त्री भएका थिए ।
स्व. चौधरीले विक्रम संवत् २०२८ सालमा भारतको वनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका कांग्रेसले जनाएको छ । पार्टीका विभिन्न पदमा रहेर स्व. चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका २ श्रीमती, ३ छोरा र १ छोरी रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।