आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

क्वारेन्टाइन कोरोना ‘बम’ !

क्वारेन्टाइन कोरोना ‘बम’ !

  • मिडिया डबली
  • शुक्रवार, जेठ ९ २०७७

  • 6.2K
    SHARES

  • क्वारेन्टाइन कोरोना ‘बम’ !

    बुटवल – कोरोना फैलिएसँगै देशभर क्वारेन्टाइन बनाउन संघीय सरकारले मापदण्ड बनायो । त्यसअनुसार बनाउने र सुविधा दिनने हो भने क्वारेन्टाइन नै आइसोलेसन अस्पतालभन्दा उच्च स्तरका हुन्छन् ।

    तर प्रदेश ५ का सीमावर्ती जिल्लाका क्वारेन्टाइन मापदण्डविपरीत छन् । क्वारेन्टाइन नै कोरोना ‘बम’ बन्ने जोखिम बढेको छ ।

    यसको उदाहरण नरैनापुरको क्वारेन्टाइन हो । नरैनापुर गाउँपालिका– ५ भोजभगवानपुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा ४ दिनमा २३ जनालाई कोरोना संक्रमण भयो । १ जनाले ज्यानै गुमाए ।

    क्वारेन्टाइनमा बसेका ६४ जनामध्ये ६ जनालाई शुक्रवार कोरोना संक्रमण भयो । शनिवार क्वारेन्टाइनमा रहेका ३९ जनाको स्वाब नमूना संकलन भयो ।

    परीक्षणको रिपोर्ट नआउँदै आईतवार नरैनापुर–५ नयाँ बस्तीका २५ वर्षका युवाको क्वारेन्टाइनमै कोरोनाबाट मृत्यु भयो। उनको मृत्युपछि त्यहाँ बसेकाले विरोध गरे । वडा नम्बर ६ को जय किसन माविको क्वारेन्टाइनमा सारियो । सोमवार त्यही क्वारेन्टाइनमा बसेका थप १७ जनामा कोरोना पुष्टि भयो । उनीहरू रातभर संक्रमण नभएका व्यक्तिसँगै टेन्टमा सुते ।

    नरैनापुर–५ को दीपेन्द्र प्रावि मात्र होइन, नमुना प्रावि मोतीपुरको क्वारेन्टाइनमा बसेका ५ जना र नेपाल राष्ट्रिय प्रावि हुलासपुर्वाका १२ जनामा कोरोना संक्रमण भएको छ । नरैनापुरमा ७३ जनामा संक्रमण हुँदा वडा नम्बर ५ का ५३ जनामा कोरोना पुष्टि भइसकेको छ ।

    नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त शर्माका अनुसार गाउँपालिकाभर १५ वटा क्वारेन्टाइनमा झन्डै ८ सय जनालाई राखिएको छ । हरेकमा औसत ५० भन्दा बढी व्यक्ति छन् । मापदण्डअनुसार क्वारेन्टाइन बनाउन नसकिएको मिश्र स्वीकार गर्छन् ।

    ‘हामीसँग जे जस्तो भौतिक पूर्वाधार छ, त्यसलाई प्रयोग गरेका छौं । भारतबाट आएर घरपरिवारमा सार्ने खतरा थियो । त्यसलाई जोगाएका छौं,’ उनले भने । त्यहाँका क्वारेन्टाइनमा रहेका अधिकांशले दिसापिसाब शौचालयबाहिरै गर्ने गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

    जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ८ स्थानीय तहका ४९ वटा क्वारेन्टाइनमा १ हजार ४५६ जनालाई राखिएको छ । औसत एउटा क्वारेन्टाइनमा ३० जना छन् । जिल्ला समन्वय समितिले क्वारेन्टाइनका अवस्थाको अनुगमन गरेको छ । समिति सदस्य चेतबहादुर घर्ती भन्छन्, ‘क्वारेन्टाइन बनाएर राख्नु राम्रो हो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुनै पनि क्वारेन्टाइन बनाउन सकिएको छैन ।’

    तराईको चर्काे गर्मी छ । प्रायः विद्यालयका कोठामा क्वारेन्टाइन बनाइएको छ । टिनको छानामुनि बिछ्याइएको म्याटमा सुत्नुपर्छ । खाटको व्यवस्था छैन । झुल नहुँदा लामखुट्टेले टोक्छन् । मध्यरातमा उठेर हातले लामखुट्टे मारिरहनुपर्छ । प्रायः एकै किसिमको खानाले आजित बनाएको छ । खाजा कुकुरलाई फालेजस्तो दुव्र्यहार । न स्वास्थ्य परीक्षण न त सोधीखोजी हुन्छ । मान्छे क्वारेन्टाइनमा छन्, बिहान–साँझ खान पाएका छन् । बस पुग्यो । अरू वास्ता छैन । भारतबाट उद्धार गरी भैरहवाको क्वारेन्टाइनमा राखिएका नेपालीको अवस्था होे यो ।

    सरकारले क्वारेन्टाइनमा स्वास्थ्यसम्बन्धी व्यवस्था लागू गर्न निर्देशन दिए पनि यस क्षेत्रका क्वारेन्टाइनमा लागू भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६ वटा बुँदा जारी गर्दै स्वास्थ्यसम्बन्धी व्यवस्था लागू गर्न निर्देशन दिएको थियो । त्यसका अधिकांश बुँदालाई स्थानीय तहले बेवास्ता गरेका हुन् ।

    भैरहवा (सिद्धार्थनगर नगरपालिका)का २ क्वारेन्टाइनमा भारतबाट ल्याइएका नेपालीलाई राखिएको छ । ‘क्वारेन्टाइनमा राखेदेखि कसैले खासै वास्तै गर्दैनन्,’ नुवाकोटका विजय थापा मगरले टेलिफोनमा भने, ‘सधैं एउटै त्यही तरकारी र भात दिन्छन् । खाए खा नखाए मरजस्तो अवस्था छ ।’

    उनका अनुसार बरु भारतीय क्वारेन्टाइनमा हुँदा राम्रो व्यवस्था थियो । ‘कम्तीमा के कसो छ सोध्न त आउँथे । यहाँ त केही पनि छैन । खाजाको रुपमा बिस्कुट दिन्छन् । त्यो पनि टाढैबाट फालेर जान्छन् । कुकुरजस्तो व्यवहार गरिरहेका छन्। अलि नराम्रो लागिरहेको छ,’ उनले भने ।

    भारतबाट नेपालीलाई ल्याइएपछि एउटा कोठामा १५ जना राखिए पनि केहीलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पठाउँदा संख्या घट्दो छ । क्वारेन्टाइनमा कसैले अनुगमन गरेका छैनन् ।

    सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी व्यवस्था क्वारेन्टाइनमा लागू गर्न नसकिएको सिद्धार्थनगर नगरपालिकाका प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी स्वीकार गर्छन् । ‘स्वास्थ्य मन्त्रालयले भनेजस्तो सबै कहाँ गर्न सकिन्छ र ?’ उनले भने, ‘बजेट, जनशक्ति र स्थान अभाव रहेको अवस्थामा सबै गर्न नसकिए पनि अरू पालिकाभन्दा कमजोर व्यवस्थापन छैन ।’

    मापदण्डअनुसार कोठामा ७ फिटको फरकमा बेड तयार गरी २ जनासम्म राख्नुपर्ने व्यवस्था छ । तर जिल्लाका अधिकांश क्वारेन्टाइनमा एउटै कोठामा १० जनाभन्दा बढी राखिएका छन् ।

    कपिलवस्तुमा सबैभन्दा धेरै व्यक्ति क्वारेन्टाइनमा बसेका छन् । एउटै पालिकामा १६ सय जनासम्म छन् । सीमा क्षेत्र नजिकका विद्यालयमा एउटै कोठामा १० जनाभन्दा बढीलाई राखिएको छ । महाराजगञ्ज नगरपालिका–७ गगौडामा क्वारेन्टाइन बस्नुपर्नेहरू बगैंचामा खटिया राखेर बसेका छन् । १० वटा खटिया जोडेर उनीहरू बस्ने गरेको र दूरी कायम राख्न आग्रह गर्दा अटेर गर्ने गरेको महाराजगन्ज नगरपालिकाका एक स्वास्थ्यकर्मीले बताए ।

    नगरपालिका क्षेत्रभित्र ४८ वटा क्वारेन्टाइनमा १ हजार ६ सय ३२ जना छन् । प्रहरी ड्युटी नहुँदा क्वारेन्टाइनमा मनोमानी ढंगले बस्ने, घरपरिवारलाई क्वारेन्टाइनमै भेट गर्ने, घरबाट खाना मगाएर सँगै बसेर खाने गरेको पाइएको छ ।

    जिल्लाका क्वारेन्टाइन मापदण्डअनुसारको व्यवस्थापन नपाइएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरी बताउँछन् । ‘यहाँका क्वारेन्टाइनमा मुख्य रुपमा दूरी कायम गरिएको छैन,’ स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीले भने, ‘एउटा संक्रमितले क्वारेन्टाइनका अधिकांशलाई संक्रमण फैलाउने अवस्था छ ।’

    क्वारेन्टाइनमा रहेकाहरुले अनिवार्य मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने हुन्छ । तर सबैले प्रयोग गरेको देखिँदैन । दिनको चियासमेत गरेर ४ पटक पोषिलो खानेकुरा खुवाउनुपर्छ । तर अधिकांश क्वारेन्टाइनमा बसेकाहरूले २ छाक मुस्किलले खाना पाएका छन् । कपिलवस्तुमा मात्रै ७ हजार ६०१ जना क्वारेन्टाइनमा छन् । नवलपरासीको क्वारेन्टाइनमा १२ सय जना छन् । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर १४ हजारको हाराहारीमा क्वारेन्टाइनमा बसेका व्यक्ति छन् ।

    (शंकरप्रसाद खनाल/नेपालगन्ज, सलमान खान/भैरहवा, गोपाल भण्डारी/कपिलवस्तु, हरि शर्मा/परासी)

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ९ २०७७०२:००:५२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend