काठमाडौं – भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको दार्चुलाको हेलिकप्टर भ्रमण चर्चामा आयो ।
मन्त्री पोखरेलले कालापानी क्षेत्रमा हेलिकप्टर निरीक्षण गरेको भनिएपनि उनले भारतले बनाइरहेको सडकबारे किन थाहा पाएनन्, सडक निर्माण रोक्न किन पहल गरेनन् ? सामाजिक सञ्जालमा प्रश्न उठे ।
धेरै चर्चा भएपनि यसरी मन्त्री पोखरेलले सरकारले नयाँ नक्सा जारी गरेपछि भित्रि रहस्य बताएका छन् । सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति (रासस) लाई अन्तर्वार्ता दिँदै मन्त्री पोखरेलले दार्चुला भ्रमणबारे बताएका छन् ।
राससका पत्रकारले सोधेको प्रश्नको जवाफमा मन्त्री पोखरेलले आफूले गरेको दार्चुला भ्रमणबारे बताएका छन् ।
प्रश्न –
केही महिनाअघि मात्रै तपाईं दार्चुलाको स्थलगत भ्रमणमा जानुभएको थियो । त्यस बेलासम्मको स्थिति के पाउनुभएको थियो ? त्यहाँबाट फर्केपछि के पहल गर्नुभयो ?
जवाफ –
म गत फागुन ४ र ५ गते दार्चुला पुगेको थिएँ । जिल्लाका जनप्रतिनिधि र नेपाली सेनाको सीमा हेर्ने अधिकारीसहित त्यहाँको सीमा क्षेत्रको संवेदनशील र अतिक्रमित भूमिको वस्तुस्थितिबारे बुझ्न पुगेको हुँ । बाक्लो हिमपात भएका कारण भ्रमणको योजनाअनुरुप सिमाना र त्यस क्षेत्रका महत्त्वपूर्ण ठाउँसम्म पुग्न सकिएन । त्यसकारण त्यहाँ भारतीय पक्षले मानसरोवर जोड्ने सडक बनाइरहेको विस्तृत विवरण लिन सम्भव भएन ।
दोस्रो, त्यहाँबाट फर्केपछि मैले प्रधानमन्त्रीलाई त्यहाँ आफूले देखेबुझेको वस्तुस्थितिबारे अवगत गराएको थिएँ । मेरो भ्रमणले सरकारका तर्फबाट तत्काल गर्नुपर्ने कामहरू सुनिश्चित गर्न थप सहयोग पुगेको छ । फलस्वरुप हामीले दार्चुलाको छाङ्गरुमा सशस्त्र प्रहरी सीमा सुरक्षा चौकी (बीओपी) स्थापना गरेका छौं ।
नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक भएको छ । अब ऐतिहासिक तथ्य र प्रमाणहरूका साथै सिङ्गो मुलुकका राजनीतिक शक्तिहरूको साझा र संयुक्त अडानका बलको आधारमा गम्भीर राजनीतिक र कूटनीतिक पहललाई अविलम्ब अघि बढाउनु छ । त्यहाँ पूर्वाधार विकास र विस्तृत सुरक्षा योजना कार्यान्वयन गर्नुपर्ने छ । खासमा दार्चुला सदरमुकामदेखि टिंकर भन्ज्याङ्सम्मको ८७ किलोमिटरसम्मको सडक बनाउनु अति आवश्यक छ । मेरो भ्रमण त्यस सडकका निर्माणका सन्दर्भमा पनि थियो ।
मन्त्रिपरिषद्को बैठकले सो सडक बनाउने जिम्मेवारी नेपाली सेनालाई दिइसकेको अवस्थामा अब आउने आर्थिक वर्षको बजेटमा उक्त सडक निर्माणका लागि प्राथमिकतासहित बजेट तर्जुमा हुनेछ र निर्माणको काम सुरू हुनेछ ।
छाङ्गरु भन्ने गाउँ लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा जाने महत्त्वपूर्ण बिन्दुमा पर्छ । त्यहाँबाट देब्रेतिर लाग्दा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र पर्छ । दाहिनेतिर लाग्दा टिंकर भन्ज्याङ आउँछ, जहाँबाट तिब्बतको ताक्लाकोट पुगिन्छ । जिल्ला सदरमुकाम रहेको दार्चुला तर्फबाट टिंकर भञ्ज्याङसम्म पुग्ने ८७ किलोमिटर बाटो बनाउन विक्रम संवत् २०६५ देखि प्रारम्भ गरिएको भएपनि अगाडि बढ्न सकेको थिएन ।
अत्यन्त विकट मानिएको र निर्माणका लागि ठेक्कासमेत लाग्न नसकिरहेको अवस्थामा त्यो घोषित सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मेवारी दिने निर्णय हुनुपूर्व म त्यहाँ पुगेको थिएँ । नेपाली सेनाले सडक निर्माणको काम अब सुरू गर्दैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।