काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अतिअशक्त अपाङ्गता भएका व्यक्ति र असहाय एकल महिलाको सामाजिक सुरक्षा भत्ता रोकेपछि सर्वत्र विरोध भइरहेको छ ।
कोरोना भाइरस संक्रमणको महामारीका बेला असहाय व्यक्तिलाई अतिरिक्त राहत दिनुपर्ने बेला ओली सरकारले खाइपाई आएको भत्ता रोकेको छ ।
ओली सरकारको यस्तो हर्कतको नेपाली कांग्रेसले विरोध गरिसकेको छ । बिहीबार नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले प्रेस विज्ञप्ति जारी गर्दै भत्ता रोक्ने निर्णय अत्यन्तै अमानवीय कार्य भएको जनाएका छन् ।
‘अतिअशक्त अपाङ्गता भएका व्यक्ति र ६० वर्षमुनिका असहाय एकल महिलाले विगतदेखि पाउँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने निर्णयप्रति ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस कार्यबाट संविधानले ग्यारेन्टी गरेको सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको हनन् हुने र संविधानले आत्मसात गरेको मौलिक हकको प्रतिकूलसमेत छ ।’
ओली सरकारको भत्ता रोक्ने निर्णय कोरोना महामारीबाट जनता प्रताडित भइरहेको विषम अवस्थामा नेपालको संविधानमा उल्लेख भएको ‘अशक्त, अपाङ्गता भएका व्यक्ति र असहाय नागरिकले सामाजिक सुरक्षाको हकबाट वञ्चित रहनुपर्ने छैन’ भन्ने प्रावधान प्रतिकूल रहेको भनी सांसद पन्थले विरोध गरेका छन् ।
‘अतिअशक्त अपाङ्गता भएका व्यक्ति र असहाय एकल महिलाको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य हो,’ उनले भने, ‘उक्त निर्णय तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न सरकारसँग माग छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।