सिन्धुली – आरडीटी विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्दा ‘पोजेटिभ’ आएपछि सिन्धुली जिल्लामा तनाव उत्पन्न भएको छ ।
आरडीटीमा पोजेटिभ देखिएपछि पीसीआर विधिबाट जाँच गर्न स्वाब संकलन गरी प्रादेशिक अस्पताल पठाइएको थियो ।
स्वाब पठाइएका ५० मध्ये ४७ जनामा कोरोना भाइरस संक्रमण नेगेटिभ आएको सिन्धुली अस्पतालका कोरोना फोकल पर्सन डा. प्रसन्नजङ्ग राजभण्डारीले बताए ।
‘आरडीटी विधिबाट जाँच गर्दा पोजेटिभ आउने २७ र अरु केही व्यक्तिको गरी ५० जनाको मंगलवार थ्रोट स्वाब पठाइएकामध्ये ४७ जनाको रिपोर्ट आएको छ,’ उनले भने । अग्रपंक्तितमा काम गर्ने स्वास्थ्य र सुरक्षाकर्मी, पत्रकार, नागरिक, प्रतिनिधि, कर्मचारीको परीक्षणमा गरिएको थियो । पीसीआर विधिबाट जाँच गर्दा अब बाँकी ३ जनाको रिपोर्ट बिहीबार आउने बताइएको छ ।
सोमबार आरडीटी विधिबाट कोरोनाको जाँच गर्दा केही व्यक्तिलाई पोजेटिभ देखाएपछि बजार सुनसान हुन थालेको छ । सिन्धुली कोरोना भाइरसको उच्च जोखिममा रहेका अवस्थामा पनि विभिन्न बहानामा सर्वसाधारणको बजारमा भीडभाड नै हुने गरेपनि एकाएक आरडीटी पोजेटिभ आएपछि तनाव हुँदै बजार सुनसान हुन थालेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सामाजिक दूरी कायम गरी दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न आदेश जारी गरेको छ । बिहान हुने भीडभाडले कोरोना भाइरसको संक्रमण हुने जोखिम कायम रहिरहेका बेला सिन्धुली अस्पतालमा आरडीटी गर्दा केहीको पोजेटिभ आएपछि बजारमा मानिसको आवतजावतमा कमी आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।