काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रभावकारी काम गर्न नसकेपछि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली आफैं तातेका छन् ।
ओलीले विश्वास गरेर सुरूदेखि नै मन्त्री पोखरेललाई कोरोना रोकथामका जिम्मा दिएपनि देशमा कोरोना भाइरस फैलिँदै गइरहेका छ भने २ जनाको मृत्यु भइसकेको छ ।
यस्तो बेला प्रधानमन्त्री ओली आफैं कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) को बैठकमा सहभागी भएका छन् । छाउनीस्थित कार्यालयमा बुधवार पहिलो पटक पुगेका ओलीले क्वारेन्टाइनको अवस्था सुधार्नका लागि निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव समेत रहेका सीसीएमसी अप्सका संयोजक महेन्द्रप्रसाद गुरागाईंले ओलीलाई कोरोना रोकथामको अवस्थाबारे जानकारी दिएका थिए ।
सीसीएमसीको ३ क्लस्टर स्वास्थ्य सेवा तथा उपचार, आपूर्ति तथा अत्यावश्यक सेवा कार्य, शान्ति सुरक्षा कार्य र सूचना तथा प्रविधि कार्यको काम, कारबाहीबारे पनि ओलीलाई छुट्टै जानकारी दिइएको थियो ।
जानकारी लिएपछि निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले देशभर क्वारेन्टाइनको स्थितिबारे चासो देखाउँदै सुधार गर्न निर्देशन दिएका छन् ।
जेठ २० गते लकडाउनको अवधि सकिएपछि सरकारले लिनुपर्ने कदम र भावी रणनीतिबारे पनि बैठकमा छलफल भएको थियो । विदेशबाट ल्याउनुपर्ने नागरिकको सम्बन्धमा पनि ओलीले चासो राखेका जनाइएको छ ।
अप्सले संरचना तयार गरेर मात्र कति नेपालीलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने यकिन हुने प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ । यसअघि संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट कसैको पनि मृत्यु हुन नदिने प्रयासमा सरकार असफल भएको स्वीकारेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।