काठमाडौं - नेपाली सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु तथा राष्ट्रिय एकताको प्रतिकको मानिन्छ । हाल नेपालमा भरोसा र विश्वासको कडी नेपाली सेना बनिरहँदा विभिन्न षड्यन्त्र गरी नेपाली सेनालाई बदनाम गराउने क्रियाकलाप भएकोप्रति नेपाली सेनाले ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली सेनाले आइतबार कालिमाटी ईलाकामा सैनिक प्रहरीले सञ्चालन गरेको चेकप्वाइन्टमा एकजना व्यक्तिले नेपाली सेनाको सैनिक पोशाकको माथिको कम्ब्याट लगाई हिडिरहेको अवस्थामा फेला पारेको र उनलाई सोधपुछ गर्दा सैनिक पोशाकको प्रयोगसम्बन्धी आफू जानकार नभएको र ब्लड बैंक जान लागेको बताएको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार सैनिक प्रहरीको चेकजाँच टोलीले नजिकै रहेको प्रहरी चौकीमा जान आग्रह गर्दा उनले प्रहरी चौकी जानुको सट्टा बरु यहि सैनिक पोशाक खोलेर अस्पताल जान्छु भनि अनुरोध गरेकोले सैनिक पोशाक खोलेर त्यहाबाट हिडेको जनाइएको छ । तीनै व्यक्तिलाई एक मिडियाको फोटो ग्राफरले भेटेर तथ्यलाई तोडमोड गरी सेनाको बदनाम र आलोचित पार्न समाचार सम्प्रेषण गरेको पाइएको छ । चेकजाँचमा संलग्न सैनिक प्रहरीका जवानहरुले कुनै किसिमको जबरजस्ती तथा अमानवीय व्यवहार नगरेको नेपाली सेनाको दाबी छ ।
उनी पूर्वशिक्षक भएको बताइएको छ । अरुलाई कानुन पालना गर्न सिकाउने र कुनै पनि संगठनको पोसाकको दुरुपयोग गर्न हुँदैन, समाजमा असल काम गर्नुपर्छ भनेर सिकाउने व्यक्तिले आफूलाई सैनिक पोसाकको दुरुपयोग भएको थाहा नपाएको भन्ने कुरा आफैंमा क्षम्य नहुने विषय हो । उनी भएको परिस्थिति गम्भीर भएकोले सैनिक प्रहरीले उनलाई छुट दिएकोमा सेनाप्रति धन्यवाद व्यक्त गर्नुपर्थ्यो ।
यही एउटा घटनाको वास्तविकतालाई तोडमोड गरी सेनाप्रति समाजमा कलह, विग्रह र आक्रोश उत्पन्न गराउने प्रयत्न गर्नु पत्रकारिताको विश्वसनियता माथि नै प्रश्न उठेको सेनाले जनाएको छ । पत्रकारितामा महत्वपूर्ण मानिने दोहोरो परीक्षणको सिद्धान्तलाई समेत वेवास्ता गर्दै एकतर्फीरुपमा प्रस्तुत गरिएको सामग्रीले पनि समाचारको नियतलाई पुष्टि गर्ने काम गरेको सेनाको ठहर छ ।
सैनिक पोशाक प्रयोगसम्बन्धी गृह मन्त्रालयले २०७६ साउन १३ गते सर्वसाधारणको लागि परिपत्रसमेत जारी गरी अनाधिकृत रुपमा सैनिक पोशाकको विक्रिवितरण तथा प्रयोग नगर्न आग्रह गरेको थियो । नेपाली सेनालेसमेत एक सूचना जारी गर्दै नेपाली सेनाले मात्रै प्रयोग गर्ने क्यामोफ्लाइज कपडा सर्वसाधारणले प्रयोग गर्ने गरेको, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन रक्षक तथा निजी सुरक्षा गार्डहरुले पनि प्रयोग नगर्न आग्रह गरेको थियो । नेपाली सेनाको आग्रहमा सैनिक बाहेक अन्य ब्यक्तिहरुले सो पोशाक प्रयोग गर्न नपाउने ब्यवस्था मिलाउन सरकारले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन पनि दिएको थियो ।
नेपाली सेनाले सैनिक व्यक्ति तथा गैरसैनिक व्यक्तिहरुलेसमेत सैनिक पोशाकको दुरुपयोग गरिरहेको भन्ने सूचनाको आधारमा नेपाल सरकारको लकडाउनको नीतिलाई सहयोग पुर्याई फैलिनसक्ने संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ बहालवाला तथा पूर्वसैनिकहरुको हिडडुलको अनुगमन गर्न ०७७ जेठ ४ गते उपत्यकाभित्रका नारायणगोपालचोक, नयां बानेश्वर, थापाथली र कालीमाटी ईलाकाहरुमा ट्राफिक प्रहरीसँग समन्वय गरी सैनिक प्रहरीद्बारा चेक प्वाइन्ट सञ्चालन गरेको थियो ।
चेकजाँचको क्रममा जेठ ४ गते दोलखा घर भई हाल बाँसबारी ईलाकामा होटल व्यवसाय गर्दै आएका नेपाली सेनाका भगौडा सैनिक शुशिल खड्काले अनाधिकृत रुपमा सैनिक पोशाक लगाई सवारी साधन प्रयोग गरी रहेको अवस्थामा फेलापरेको र निजलाई सैनिक प्रहरी गणमा निगरानीमा राखी सैनिक ऐन अनुरुप आवश्यक कारवाही अघि बढाएको व्यहोरा जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी गराएको छ ।
सैनिक अनुशासन, पोशाक तथा अन्य निर्देशन पालना भए-नभएको यकिन गर्ने र आवश्यकता अनुसार ब्यारेक बाहिर पनि सैनिक व्यक्तिहरुको परिचय पत्रलगायत आवश्यक विवरण चेकजाँच गर्न सक्ने प्रावधान सैनिक ऐन २०६३ को दफा ७८ मा उल्लेख भए बमोजिम सैनिक प्रहरी (मिलिटरी पुलिस) को व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार सैनिक प्रहरी परिचालन गरिएका छन् ।
एक सैनिक अधिकारीले भने, "सेना परिचालित नभएकोले सिडिओ वा रासुप को आदेश चाहिदैन । सैनिक प्रहरीको पाखुरामा मिलिटरी पुलिस (एमपी) लेखेको रातो पट्टी बाँधिएको हुन्छ । संसारभर सहरमा सैनिकहरुले गलत पहिरन या अनुशासनहिनता या झगडा वा मापसे आदीको निगरानीका लागी पेट्रोलिङ गर्छन् । हाल सेनाका एमपीहरु पनि सैनिक पोसाकको दुरुपयोग सिभिलियन वा पूर्वसैनिकले पोसाको दुरुपयोग गरेर लकडाउन तोडेकाले रोक्न बसेका छन् । युनिफर्म लाउने बाहेक अरुलाई हेर्दैनन् ।"
विनाशकारी भूकम्प, विभिन्न ठाउँमा हुने बाढिपहिरो तथा आगलागी, गत वर्ष तराईमा आएको विनाशकारी आँधी तथा हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड-१९ विरुद्धको लडाइमा पनि नेपाली सेना अग्रपंक्तिमा रहेर काम गरिरहेको कुरालाई वेवास्ता गर्दै हालको संवेदनशील घडीमा देश र जनताप्रति वफादार रही नेपालको संवैधानिक व्यवस्था र अन्तर्गत निर्माण भएका ऐन कानून बमोजिम अहोरात्र खट्टिरहेको राष्ट्रिय सेनाको छवि धमिल्याउने, सैनिक व्यक्तिहरुको मनोबल कमजोर तुल्याई सिंगो संगठनको बदनाम गराउने गरी वास्तविकतालाई तोडमोड गरी अतिरञ्जित तरिकाबाट पूर्वाग्रही ढंगबाट प्रस्तुत गरिएको कुत्सित नियतका दुश्प्रचार प्रकाशित गरिएको सामग्रीप्रति नेपाली सेनाले खेद प्रकट गरेको छ । साथै यस प्रकारको भ्रामक समाचारको भ्रममा नपर्न जंगी अड्डा सम्पूर्ण पाठक वर्गमा अनुरोधसमेत गरेको छ ।
सरकारलेसमेत हरेक अप्ठ्यारोमा अथवा आफूले गर्न नसकेका कामहरु सेनालाई सुम्पिने गरेको छ । अहिले सरकारभन्दा पनि बढी भरोसा सेनाको भइरहेकोले निहीत स्वार्थमा लागेर सेनाको बदनाम गराउने खेल भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।