काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनाल विरुद्धको मुद्दा अगाडि नबढ्ने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ ।
काठमाडौंका सहन्यायाधीवक्ता नुमराज खनालले अपराधको सूचना दर्ता गर्दा दिइएको सूचना पुष्टि हुने आधार प्रहरी अनुसन्धानबाट फेला नपरेको बताएका छन् ।
‘अहिलेलाई पछि प्रमाण फेला परे पुनः अनुसन्धान हुने गरी तामेलीमा राखेका छौं,’ उनले भने । काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी कृष्ण चन्दले आवश्यक प्रमाण फेला नपरेकाले आवश्यक निर्देशनका लागि भन्दै राय सहितको प्रतिवेदन वकिल कार्यालयमा पेश गरेको थियो ।
यसअघि बैशाख १४ गते काठमाडौं प्रहरी परिसरमा टेकुमा गएका जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवको जाहेरी प्रहरीले लिन मानेको थिएन । तर सरकारी वकिलको कार्यालय काठमाडौंले उनको जाहेरी दर्ता गरेर अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएपछि प्रारम्भिक अनुसन्धान अगाडि बढेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।