काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमण ज्यानमारा बन्दै गएको छ ।
सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएको सार्वजनिक भएको भोलिपल्ट अर्का एक व्यक्तिको समेत कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेमा आईतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
यसअघि बिहीवार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो । प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन् ।
‘उहाँको रिपोर्ट पोजेटिभ आयो, योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ,’ मन्त्री बरालले भने । मन्त्री बरालले कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधार मृतकको शव व्यवस्थापन गर्न निर्देशन दिएको बताए । कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने मन्त्री बरालले बताएका छन् ।
आईतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी बैशाख ३० गते नेपाल आएका थिए । भारतबाट आएका उनलाई सिधै क्वारेन्टाइनमा लगिएको थियो ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहले उनी बसेको क्वारेन्टाइनमा अरु ३८ जना रहेका बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।