झापा – दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिवार राति सयौंको संख्यामा नेपालतिर जबरजस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।
सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति साढे ९ बजेतिर घरेलु हतियारसहित डेढ सयको संख्यामा भारतीय नागरिक १२५/१० नम्बरको सीमास्तम्भ नजिकबाट नेपाली सुरक्षा चौकीमा हुलहुज्जत गर्दै नेपाल पस्न खोजेपछि एक राउण्ड हवाई फायर गरिएको बताए ।
नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेपछि भारतीयहरू भागेर तितरवितर भएका थिए । भारतीय नागरिकले नेपाली भूमिमा लगाएको मकैबाली उठाउनका लागि जबरजस्ती गर्ने क्रममा झापाको सीमा क्षेत्रमा नेपाली सुरक्षा चौकीमा भएको यो तेस्रो आक्रमण प्रयासको घटना हो ।
एक साताअघि झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा १३१ नम्बरको सीमास्तम्भ नजिक रहेको नेपाली सुरक्षा चौकीमा भारतीय नागरिकले हुलहुज्जत गर्दा २ राउन्ड हवाई फायर भएको थियो ।
भारतीय पक्षबाट सो घटनाका बारेमा माफी माग्दै अबदेखि सीमामा हुलहुज्जत नगर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।
यसैगरी डेढ साताअघि झापाको कचनकबलस्थित सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरीको टोलीमाथि भारतीयले आक्रमणको प्रयास गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।