आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाले मृत्यु भएकी महिलाका श्रीमानको दाबी : ‘टिचिङबाटै भाइरस सरेको हुनुपर्छ’

कोरोनाले मृत्यु भएकी महिलाका श्रीमानको दाबी : ‘टिचिङबाटै भाइरस सरेको हुनुपर्छ’

  • मिडिया डबली
  • आइतवार, जेठ ४ २०७७

  • 5.9K
    SHARES

  • कोरोनाले मृत्यु भएकी महिलाका श्रीमानको दाबी : ‘टिचिङबाटै भाइरस सरेको हुनुपर्छ’

    काठमाडौं – कोरोनाका कारण मुलुकमा पहिलोपटक एक सुत्केरीको मृत्यु भएको छ ।

    सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया महिलाको बिहीवार धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

    मृतक महिलाका श्रीमानले भने त्रिवि शिक्षण अस्पतालमै पत्नीलाई संक्रमण भएको हुन सक्ने बताए । उनले भने, ‘लकडाउनका बेला हामी घरमै बसेका थियौं । उनलाई कसरी कोरोना लाग्यो ? सोचिरा’छु । हामीले बाहिरबाट आएकालाई पनि भेटेका थिएनौं । टिचिङमै रहँदा उनलाई भाइरस सरेको हुनुपर्छ ।’

    कान्तिपुरका मकर श्रेष्ठसँग ती महिलाका श्रीमानले भनेको कुरा जस्ताको त्यस्तै –

    विवाह भएको १३ वर्ष भयो । मेरो घर र ससुरालीसँगै हो । हाम्रो गोंगबुमा कोठा छ । यहीं तरकारी पसल गर्थ्यौं । पहिलो सन्तान छोरा ११ वर्ष भइसकेकाले दोस्रो सन्तानको योजना बनायौं ।

    मुलुकमा लकडाउन सुरू भएपछि वरिपरिका सबैजसो गाउँ फर्कन थाले । हामी पनि जाने कि भन्ने सल्लाह गर्‍यौं तर डाक्टरले सुत्केरी हुने मिति जेठ २२ लाई दिएको थियो । गाउँमा गएर पनि सुत्केरी हुन गाह्रो होला भनेर गएनौं ।

    डाक्टरले दिएको मितिभन्दा एक महिनाअघि वैशाख २३ मा श्रीमतीलाई सुत्केरी व्यथा लाग्यो । हामी वैशाख २३ मा टिचिङ अस्पताल गयौं । २४ गते बिहान ४ बजे सुत्केरी भइन् । छोरा जन्मियो । उनको अवस्था सामान्य थियो । २५ गते नै अस्पतालले डिस्चार्ज दियो । लकडाउनमा काठमाडौं बसेर स्याहार पुग्दैन भनेर हामीले घर जाने निधो र्गयौं । बाह्रबिसेबाट एम्बुलेन्स आएको रहेछ । त्यसमै जाने भयौं । कोठामा गएर छोरालाई लिएर आयौं, कपडा पनि झिक्यौं । अस्पतालबाटै तयार भएर हामी घर गयौं । दोस्रो सन्तान शल्यक्रियाबिना भएकाले हामी खुसी थियौं । घरमा सुत्केरी भेट्न ससुरालीतिरका आफन्त पनि आए । खुसियाली साट्यौं ।

    वैशाख ३१ गते राति उनले सास फेर्न गाह्रो भयो भनिन् । जेठ १ गते बिहानै बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बोलेरो गाडीमा राखेर लगें । चिकित्सकले एक्सरे गरेर हेरे । छातीमा खराबी रहेकाले एन्टिबायोटिक चलाउनुपर्ने भएकाले सुत्केरीलाई जोखिम हुने भन्दै थप उपचार गर्न धुलिखेल वा काठमाडौं लैजान चिकित्सकले सुझाव दिए । तर तत्काल एम्बुलेन्स पाइएन । बेलुका ७ बजे एम्बुलेन्स आयो । धुलिखेल अस्पताल ल्याइपुर्‍याउँदा साढे ९ भइसकेको थियो । अस्पतालको गेटमा पुग्नेबित्तिकै उनलाई गाह्रो भयो । अस्पतालभित्र लगेर चिकित्सकले हरप्रयास गरे । भेन्टिलेटर चलाए । पम्प दिए । तर बचाउन सकिएन भनेर डाक्टरले सुनाए । अस्पताल ल्याएको आधा घण्टामै उनको मृत्यु भयो ।

    ममी, बहिनी र म आएका थियौं । रातभरि रोएरै बस्यौं । आफन्तलाई उनको मृत्युको खबर सुनायौं । भोलिपल्ट हामीले उनको शव सद्गतका लागि लैजान खोज्यौं तर अस्पतालले कोरोना परीक्षण गर्ने भनेर लैजान दिएन । शुक्रवार पनि हामी दिनभरि शव लैजान कुर्‍यौं । अस्पताल प्रशासनले शनिवारसम्म रिपोर्ट आउने भएकाले पर्खन आग्रह गरेको थियो । हामीले आफन्तलाई त्यही जानकारी गरायौं ।

    शनिवार बिहान फेरि शव दिन अनुरोध गर्दा डाक्टरले हामीलाई थप सतर्क भएर, कसैलाई नछोई, छुट्टै बस्न आग्रह गरे । अस्पतालले नभने पनि श्रीमतीको मृत्यु कोरोनाले भएको हो कि भन्ने शंका लाग्यो । केही बेरपछि इमर्जेन्सी वरिपरि कसैलाई आउन दिएनन् ।

    त्यसपछि उनको मृत्यु कोरोनाकै कारण भएको रहेछ भन्ने लाग्यो । अस्पतालमा केही कर्मचारीले मृत्युको कारण कोरोना भएको पनि सुनाए । त्यसपछि थप सतर्क भयौं । १० दिनको बच्चा स्वस्थ छ । उसलाई ल्याक्टोजिन खान दिइरहेका छौं । ठूलो छोरा गाउँमै छ । उनीसँगको सम्बन्ध सम्झिरहेको छु । रुन्छु । मैले चिन्ता लिँदा आमा र बहिनीले पनि चिन्ता लिने भएकाले मन दह्रो बनाएर बसेको छु ।

    अस्पतालले शनिवार दिउँसो १० दिनको छोरा र हाम्रो पनि स्वाब परीक्षणका लागि लगेको छ । रिपोर्ट के आउने हो ?

    लकडाउनका बेला हामी घरमै बसेका थियौं । उनलाई कसरी कोरोना लाग्यो ? सोचिरा’छु । हामीले बाहिरबाट आएकालाई पनि भेटेका थिएनौं । टिचिङमै रहँदा उनलाई भाइरस सरेको हुनुपर्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ४ २०७७०२:५२:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend