काठमाडौं – सरकारले आधिकारिक रुपमा घोषणा नगरेपनि कोरोना भाइरस संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएको आशंका गरिएकी महिलाको कोरोना कार्यविधि अनुसार दाहसंस्कार गर्ने तयारी भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था रहेको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रुपमा मृतक महिलामा कोरोना संक्रमण भएको पुष्टि गरेको छैन । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिवार साँझ नियमित पत्रकार सम्मेलनमा महिलाको मृत्युबारे अध्ययन भइरहेको जनाएका थिए ।
मृतक महिलाको दाहसंस्कारका लागि पशुपति आर्यघाट लैजाने तयारी भइरहेको सुरक्षा निकायका एक अधिकारीले जनाएका छन् । कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधिमा हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरेपनि सावधानी अपनाउने व्यवस्था गरिएको छ । शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने कार्यविधिमा उल्लेख छ ।
मृतकको जथाभावी सदगतलाई पनि निषेध गरिएको छ । शवलाई अस्पताल/घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सदगत गर्ने व्यक्तिहरू र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
शवलाई कमभन्दा कम चलाउने भनिएको छ । शवको कुनै भागबाट श्राव भइरहेको भए त्यसलाई होसियारीपूर्वक बन्द गर्नुपर्ने उल्लेख छ । ‘६० वर्षमाथिका व्यक्ति र दीर्घ रोगीहरूलाई शवको नजिक जानबाट रोक्नुपर्छ । सदगत गर्नुपूर्व आफ्नो कुल/परम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलाप गर्न सकिनेछ,’ कार्यविधिमा उल्लेख छ ।
मृतकका आफन्तले शव हेर्न चाहेनमा नछोइ कम्तीमा एक मिटर टाढाबाट १/१ जनालाई पालैपालो गरी हेर्न दिन सकिने कार्यविधिमा उल्लेख गरिएको छ । कोरोनाले मृत्यु भएका व्यक्तिको सामान्यता पोस्टमार्टम गर्नु नपर्ने पनि कार्यविधिमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।