काठमाडौं - नोभेल कोरोना भाइरसको त्रासका कारण लाखौं नेपालीहरु विभिन्न मुलुकमा समस्यामा परेका छन् । उनीहरु घर फर्किन चाहन्छन् ।
कतारमा हालसम्म ३० हजारमा कोरोना संक्रमण भएको छ भने १४ जनाको मृत्यु भइरहेको छ । कतारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाए पनि आन्तरिक कामहरु भने जारी राखेको छ । विभिन्न मुलुकले आफ्ना नागरिकलाई फिर्ता लगिरहेका छन् ।
आफूसँगै काम गर्ने विभिन्न मुलुकका नागरिकहरुलाई उनीहरुको सरकारले घर फर्काउँदा नेपालीहरु भने अभिभावकविहीन बनेका छन् । उनीहरुले नेपाल फर्किन विभिन्न उपायहरु खोजीरहेका छन् । घर फर्किनका लागि नेपालका विभिन्न निकायहरुसँग कुरा गरिरहेका छन् ।
उनीहरुले आफूले मत दिएर जिताएका जनप्रतिनिधिलाई हारगुहार गरेर नेपाल फर्काइदिन अपिल गरिरहेका छन् । तर, जनप्रतिनिधिले भने उल्टै हप्काएर निराश पारेका छन् ।
वैदेशिक रोजगारीका क्रममा अहिले कतारमा रहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ का स्थानीय तेज बोहराले घर फर्किन के गर्नुपर्छ भनेर आफ्ना जनप्रतिनिधिलाई फोन गर्दा पहिले त फोन नै उठाएनन् । पछि फोन उठाइसकेपछि 'हल्ला नगर, चुप लागेर बस्', तेरो नाम के हो ? लकडाउन भनेको के हो बुझ्याछस् ? किन फोन गर्छस् ? तेरो फोन उठाउनका लागि बस्या हो ? हजारौं फोन आउँछन्" भन्नेलगायतका कुराहरु गर्दै हप्काएका छन् ।
विदेशमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्सबाट धानिएको नेपालको अर्थतन्त्रमा अहिले उनीहरु समस्यामा पर्दा निर्दयीपन देखाउनु मानवताको चरम पराकाष्ठा भएको पुष्टि हुन्छ । हामीलाई प्राप्त अडियो क्लिपमा बोहराले भनेका छन्, "दाई हामी घर फर्किन चाहन्छौं । मैले त्यही भएर फोन गरेको हो । तपाईंसँग नराम्री केही बोलेको छैन । सोध्नु र तपाईंलाई फोन गर्नु नै गल्ती हो भने माफी चाहन्छु ।"
विदेशमा रहेका नेपालीहरुलाई फर्काउन माथिल्लो निकायमा पहल गर्ने, नआत्तिक आश्वासन दिनुको साटो यसरी हप्काउनका लागि जिताएको पक्कै पनि होइन । केन्द्र सरकारले जसरी वेवास्ता गरेको छ स्थानीय सरकारका प्रमुखहरुले पनि आफूलाई सिंह सम्झिएको यो एक उदाहरण हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।