काठमाडौं – कोरोना भाइरस संक्रमण देखिएकी महिलाको काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि राजधानी काठमाडौंमा खैलाबैला मच्चिएको छ ।
धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गर्दा मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ भने थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको छ । टेकुले कोरोना संक्रमण भएको पुष्टि गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको कारण सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसेबाट बिहीवार धुलिखेल अस्पतालमा भर्ना भएकी ती महिलाको शुक्रवार साँझ उपचारका क्रममा निधन भएको छ ।
अस्पतालले परीक्षण गर्दा महिलामा कोरोना संक्रमण देखिएको थियो । ती महिला श्वास फेर्न अप्ठ्यारो भएको भन्दै धुलिखेल अस्पताल आएकी थिइन् ।
मृत्यु हुनुभन्दा ८ दिनअघि त्रिवि शिक्षण (टिचिङ) अस्पताल काठमाडौंमा सुत्केरी भएर घर गएपछि ती महिलालाई श्वास फेर्न अप्ठ्यारो भएको थियो । सुत्केरी हुने क्रममा टिचिङ अस्पतालमा कोरोना संक्रमण भएको हुनसक्ने अनुमानका कारण काठमाडौं क्षेत्रमा खैलाबैला मच्चिएको छ । शिक्षण अस्पतालमा यसअघि समेत कोरोना संक्रमित देखिएका छन् ।
मृतक महिलामा कोरोना पोजेटिभ देखिएपछि धुलिखेल अस्पताल सील गरिएको छ । अस्पतालको आकस्मिक कक्षका चिकित्सक, नर्स सबैको स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि पठाइएको छ । स्वास्थ्य मन्त्रालयले भने आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।