काठमाडौं – विश्व स्वास्थ्य संगठनको तोकिएको मापदण्ड नपुगेका अव्यवस्थित क्वारेन्टाइनले कोरोना भाइरस संक्रमण विस्तारमा सघाएको दाबी विज्ञहरूले गरेका छन् ।
पर्सा, रूपन्देही र कपिलवस्तुमा क्वारेन्टाइनबाट संक्रमण फैलिएको उनीहरूको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार मुलुकभरि १५ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा छन् । सबैभन्दा बढी प्रदेश ५ मा ८ हजार ३ सय २५ जना क्वारेन्टाइनमा छन् ।
सुदूरपश्चिममा २ हजार ९ सय १६, प्रदेश २ मा २ हजार ५१, कर्णालीमा १ हजार ८२, प्रदेश १ मा ८ सय ८५, गण्डकीमा ३ सय ७ जना र सबैभन्दा कम बाग्मतीमा १ सय १७ जना क्वारेन्टाइनमा रहेका छन् ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. जीडी ठाकुरले स्कूल, खाली ठाउँमा बनाइएको क्वारेन्टाइनमा कुनै आधारभूत सुविधा नभएको र व्यक्तिगत/सामाजिक दूरी कायम राख्न प्रेरित पनि नगरिएको बताए । ‘केही क्वारेन्टाइनमा त साबुनपानीले हात धुने व्यवस्था समेत छैन,’ उनले भने, ‘स्थानीय सरकारहरूद्वारा निर्मित अव्यवस्थित क्वारेन्टाइन संक्रमण फैलाउने ठाउँ बनेको छ ।’
स्वास्थ्य मन्त्रालयका एक उच्च पदाधिकारीले पनि क्वारेन्टाइनमा उच्च जोखिम भएकाहरूको पीसीआर परीक्षण गर्दा अत्यधिक पोजिटिभ देखिएको बताए । मन्त्रालयले पछिल्लो समय क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई लक्ष्य गरी पीसीआर परीक्षण बढाएको छ । विज्ञहरूका अनुसार पहिलो पटक चीनबाट विद्यार्थी ल्याउँदा सरकारले बनाएको क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले अधिकांश क्वारेन्टाइनमा एकबाट अर्को व्यक्तिमा संक्रमण नहुने उपायसहित नराखिएको बताए । ‘चिकित्सकहरूबाट पाएको प्रतिक्रियाअनुसार अधिकांश क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छैनन्,’ उनले भने, ‘संक्रमणको स्रोत क्वारेन्टाइन बनेको छ ।’
एउटा क्वारेन्टाइनमा सय, दुई सय व्यक्ति राखेपनि शौचालय १/२ वटा मात्र रहेको डा. कार्कीले बताए । ‘सबैलाई त्यही शौचालय उपयोग गर्नुपर्ने बाध्यताका कारण एक जना संक्रमितले थुप्रैमा संक्रमण सार्छ,’ उनले भने ।
पाकिस्तानमा गरिएको अध्ययनले मापदण्ड नपुर्याइएका क्वारेन्टाइन कोभिड–१९ संक्रमणको स्रोत हुनसक्ने पुष्टि गरिसकेको डा. कार्कीले बताए । ‘स्थानीय सरकार वा जोसुकैले बनाएको क्वारेन्टाइनको केन्द्र सरकारबाट अनुगमन गर्नुपर्छ र मापदण्डअनुसार हुने व्यवस्था गराउनुपर्छ,’ उनले भने ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले पनि क्वारेन्टाइन असुरक्षित बनेको बताए । ‘क्वारेन्टाइन अब्जरभेसन बेड रहेको अस्पताल जस्तै हुनुपर्छ,’ उनले भने, ‘टाउको जोडेर एउटै सानो कोठामा थुप्रै जना बस्नुपर्ने अवस्थाको क्वारेन्टाइनमा राख्नुभन्दा सबैलाइ घरमै पठाएर त्यहाँ के गर्न हुने नहुनेबारे जानकारी दिँदा राम्रो हुन्छ ।’
डा.मरासिनीले आगामी दिनमा हजारौं नेपाली विभिन्न मुलुकबाट नेपाली आउने जनाउँदै त्यसका लागि तयारी थालिहाल्नुपर्ने बताए । ‘सरकारले होटलहरू लिई त्यसलाई सुरक्षित क्वारेन्टाइनमा परिणत गरेर स्थानीय अस्पताललाई प्रबन्धको जिम्मा दिनुपर्छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।