काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन्। चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेर आलोचनाको शिकार बनेकी भण्डारीले आगामी आर्थिक बर्षको नीति कार्यक्रम प्रस्तुत गर्दा उक्त शब्दावली प्रयोग गर्छिन् वा गर्दिनन्, चासोको विषय बनेको छ।
मन्त्रालयहरुले तयार गरेको खाकाको आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले दिउँसो ४ बजे संयुक्त सदनमा प्रस्तुत गर्न लागेकी हुन्।
नीति तथा कार्यक्रममा कोरोना प्रभावित क्षेत्रलाई उत्थान गर्ने कार्यक्रम पनि समावेश रहेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए।
कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्रमै ठूलो धक्का लागेको बेला वैदेशिक रोजगारीबाट ठूलो संख्यामा नेपाली फर्किने आकलन गरिएको छ। उनीहरुलाई रोजगारी दिलाउन कृषि तथा उद्योगका क्षेत्रमा गुणात्मक कार्यक्रम ल्याउनुपर्ने सुझाव विज्ञहरुले दिइरहेका छन्।
आगामी नीति तथा कार्यक्रममा सरकारले आत्मनिर्भरता, औद्योगिक उत्पादन वृद्धि र निर्यातलाई जोड दिएको छ। भारत र चीन दुवै छिमेकीको सीमामा अन्तरदेशीय आर्थिक क्षेत्र विकास गर्न पहल गरिने, ८४ वटा औद्योगिक ग्राम स्थापना थाल्ने, सिमेन्ट उद्योगलाई प्राथमिकता दिने लगायतका कार्यक्रम समावेश छन्।
नेपालसँग जोडिएको बिहार र उत्तर प्रदेशमा सिमेन्ट उत्पादन ज्यादै न्यून रहेको र उक्त बजारलाई प्राथमिकतामा राख्दै सिमेन्ट निर्यातको कार्यक्रम समावेश गरिएको छ। यसबाट सिमेन्ट उद्योगीहरु उत्साहित हुने देखिएको छ।
गतवर्ष निकै आलोचना खेपेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ग्रामीण उद्यम तथा विप्रेषण आयोजना र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमसँग मिसाएर सञ्चालन गरिने भएको छ। जसअन्तर्गत ७५ हजारलाई वर्षमा एक सय दिन रोजगार दिइनेछ।
त्यस्तै कृषि मल उत्पादनका लागि बैतडी तथा बझाङमा फस्फेराइन खनिजको सम्भावना अध्ययन गरी खनिज उद्योग प्रर्वद्धन गर्ने कार्यक्रम छ। यसले कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।