काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणपछि दिनानुदिन समस्या थपिँदै छ, त्यसलाई मध्यनजर गर्दै नेपाली कांग्रेसका युवा नेता संविधानसभा सदस्य रामहरि खतिवडाले स्वास्थ सामग्रीहरू आफैंले बोकेर जिल्लामा पुर्याएका छन् ।
पछिल्लो चुनावमा पराजित भएपनि जनताको सेवामा निरन्तर लागेका पूर्वसांसद खतिवडा जनताको सेवा गर्न चुनाव जित्नैपर्छ भन्ने नभएको उदाहरण हुन् ।
ओखलढुंगाबाट २०७४ सालको चुनावमा उपविजेतामा चित्त बुझाएपनि खतिवडा चुनावमा पाएको परिणामलाई आधार मानेर जनतामा जाने कुरामा रोकिएका छैनन् । चुनाव जितेर सांसदका रुपमाभन्दा अहिले जनताका बीचमा पुग्न हतारिने कांग्रेस नेता खतिवडा जिल्लाका हरेक नागरिकको दुःखसुखका साथी बनेका छन् ।
जिल्लाका नागरिक अप्ठ्यारोमा पर्दा पहिले सम्झिने नाम बनेका छन् खतिवडा । जिल्लावासीको त्यही भरोसाबाट उनी पनि हौसिएका छन् ।
कोरोना संक्रमणको महामारीबाट जुध्न खतिवडा स्वास्थ्य सामग्री लिएर गृहजिल्ला पुगेका हुन् । उनले बुधबार र बिहीबार मात्र ४ लाख बराबरको स्वास्थ्य सामग्री जिल्लाका विभिन्न संस्था र स्थानीय तहलाई दिएका छन् । खतिवडाले ओखलढुंगाका जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला सशस्त्र प्रहरी कार्यालय, नेपाली सेनाको कार्यालय ओखलढुंगा, प्रेस युनियन ओखलढुंगा, ओखलढुंगाका सबै स्थानीय तह, उद्योग वाणिज्य संघ ओखलढुंगा, रेडक्रस ओखलढुंगा, ओखलढुंगा सामुदायिक अस्पताल लगायतलाई स्यानिटाइजर, डिसइन्फेक्टेन्ट स्यानिटाइजर मशिन, सर्जिकल मास्क, एन९५ मास्क, पीपीई, थर्मोगन, प्रेस ज्याकेट लगायतका सामग्री उपलब्ध गराएका छन् ।
उनले एन९५ मास्क १३५ वटा, पत्रकारलाई प्रेस लेखिएको ज्याकेट, करीब ३५० लिटर स्यानिटाइजर, १० वटा किटनाशक स्प्रे, ५० लिटर क्लोरिन, २० हजार सर्जिकल मास्क र केही थर्मल गन समेत हस्तान्तरण गरेका छन् ।
खतिवडाले १६ जना पत्रकारलाई एन९५ मास्क, ज्याकेट र आधा लिटरको दरले स्यानिटाइजर बिहीबार हस्तान्तरण गरे । जिल्ला प्रहरी कार्यालयलाई २० लिटर स्यानिटाइजर, प्रत्येक गाउँपालिकालाई २० लिटरको दरले ८ वटा गाउँपालिकामा १६० लिटर स्यानिटाइजर, ७५ वडामा २ लिटरको दरले १५० लिटर स्यानिटाइजर समेत खतिवडाले उपलब्ध गराएका छन् ।

प्रत्येक गाउँपालिकालाई एक वटाको दरले ८ वटा किटनाशक स्प्रे र २ वटा जिल्ला प्रशासन र प्रहरीलाई हस्तान्तरण गरेका छन् । उनले किटनाशक औषधि छर्न मिल्ने स्प्रेसँगै क्लोरिन ५० लिटर पनि जिल्लामै पुगेर हस्तान्तरण गरेका छन् । उनले केही थान ज्वरो नाप्ने थर्मल गन पनि स्थानीय तहलाई हस्तान्तरण गरेका छन् ।
हालसम्म जिल्लाका नागरिकसम्म पुग्ने गरी स्थानीय तह, व्यक्ति तथा संस्थामार्फत २० हजार सर्जिकल मास्क वितरण गरेको उनले बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेता खतिवडाले गाउँपालिका अध्यक्षहरूलाई ‘विपतका बेलामा जनताको पक्षमा काम गर्नुस्, कुनै पनि कारणले अख्तियार लाग्यो भने नेपाली कांग्रेसले जिम्मा लिन्छ, राहतको कामलाई तीब्र गर्नुस्’ भनेर अनुरोध गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला पार्टी सभापति प्रदीपकुमार सुनुवारले भने, ‘तपाईहरू यो गाउँपालिकाको उत्कृष्ट जनप्रतिनिधि भएकाले जनताको हितमा पनि उत्कृष्ट नै काम गर्नुस्, हामीले जनताको लागि राजनीति गरेको हौं । कोरोनाले जनताहरू नै रहेन भने हामीले कसरी राजनीति गर्ने ?’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।