काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या नेपालमा ह्वात्तै बढेपछि सरकारले कडा निर्णय लिएको छ ।
मन्त्रिपरिषद्को निर्णयले लकडाउन खुकुलो पारिएको सन्देश प्रवाह भएर लकडाउन उल्लंघन भएपछि देशभर भीडभाड बढेको थियो ।
गृह मन्त्रालयले मंगलबार देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई कडा निर्देशन दिँदै एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमितको संख्या बढिरहेका बेला गृह मन्त्रालयले मंगलवार दिउँसो कडा निर्णय गरेको छ । मंगलवार एकैदिन ५७ जना कोरोना संक्रमण पुष्टि भएपछि आवतजावतमा कडाइ गरिएको छ ।
गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले भने, ‘बिहीवारदेखि लागू हुने गरी कडा निर्णय गरिएको हो ।’ उपत्यकाका ३ जिल्लाको हकमा भने एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने प्रावधान लागू नहुने उनले बताए । उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको जनाइएको छ ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवा लगायतसँग सम्वद्ध व्यक्तिले कार्यालयको परिचयपत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको छ ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृह मन्त्रालयले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।