काठमाडौं – परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारी र प्रधानसेनापति पूर्णचन्द्र थापाले आईतबार चिनियाँ पक्षलाई छुट्टाछुट्टै पत्राचार गरी यथाशक्य चाँडो भन्सार क्लियरेन्स गरिदिन आग्रह गरे ।
तर चिनियाँ पक्षले सो प्रक्रिया पूरा गर्न समय खर्चिएपछि नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री चीनको ग्वान्झाउ विमानस्थलमा थन्किएको छ ।
चिनियाँ पक्षले भन्सार प्रक्रिया पूरा गर्न विलम्ब गर्दा सामग्री ल्याउन ढिलाइ भएको रक्षा मन्त्रालय स्रोतको दाबी छ । चीनबाट ल्याइने प्रत्येक स्वास्थ्य सामग्रीको त्यहाँको भन्सार कार्यालयले लेबलिङ गर्ने र त्यसपछि मात्र निर्यातका लागि प्रमाणपत्र दिने गरेको छ । सोही प्रक्रिया पुरा गर्न समय लागेको रक्षा मन्त्रालयका अधिकारी बताउँछन् ।
चीनले भन्सार क्लियरेन्समा कडाइ नीति अवलम्बन गरेका कारण सामग्री ल्याउन केही समय लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनले भने, ‘स्वास्थ्य सामग्री ल्याउन हामीले नेपाल एयरलाइन्सको जहाज तयारी अवस्थामा राखेका छौं । चीनले भन्सार क्लियरेन्स दिनेबित्तिकै ती सामग्री ल्याउँछौं ।’ चिनियाँ पक्षले पनि भन्सार क्लियरेन्सको काम नसकिएको जवाफ नेपाली सेनालाई दिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
स्थलमार्गबाट आउने केही सामग्री भने ग्वान्झाउबाट नेपालका लागि छुटिसकेको छ । चीनको ग्वान्झाउ विमानस्थलमा हवाई माध्यमबाट पहिलो चरणमा नेपाल ल्याउनुपर्ने झण्डै ४८ टन स्वास्थ्य सामग्री थन्किएको हो । स्थलमार्गबाट ल्याइने झण्डै ३० टन स्वास्थ्य सामग्रीहरु भने ग्वान्झाउबाट हिँडिसकेको छ । ती सामग्रीहरू तातोपानी नाका हुँदै अर्को हप्तासम्ममा काठमाडौं आउने बताइएको छ ।
नेपाली सेनाले कोरोना भाइरस रोकाथाम र नियन्त्रणका लागि ३४२ टन स्वास्थ्य सामग्री चिनियाँ कम्पनीबाट खरिद गरेको छ । बाँकी सामग्रीहरू क्रमशः ल्याइने सेनाले जनाएको छ । सेनाले स्वास्थ्य सामग्री उपलब्ध गराउने चिनियाँ कम्पनी ‘चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरेसन’लाई १ करोड ८४ लाख ४१ हजार ७ सय ६ दशमलव ३५ अमेरिकी डलर (२ अर्ब २० करोड रुपैयाँ बढी) अग्रिम भुक्तानी गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।