काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारेपनि कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ ।
भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि, ग्याँस, पेट्रोलियम पदार्थलगायत सामग्री बोक्ने सवारीसाधनबाटै उपत्यकामा संक्रमण फैलन सक्ने त्रास बढेको छ ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार उपत्यकामा दैनिक १ हजार हाराहारीमा मालवाहक सवारीसाधन प्रवेश गर्छन् । ती सवारीमा कम्तीमा पनि ३/३ जना ओहोरदोहोर गर्दा पनि उपत्यका प्रवेश गर्नेको संख्या ३ हजार पुग्छ । १ जना चालक, सहचालक र सहयोगी भनेर ३ जना मालवाहक सवारीमा उपत्यका प्रवेश गर्ने गरेको प्रहरी तथ्यांकले नै बताउँछ । तर सम्बन्धित डिपोहरूमा सामाना झारेपछि ती चालक र सहचालक कहाँ बस्छन् र कहाँ खान्छन् भन्नेबारे सरकारी निकाय नै जानकार छैन ।
सरकारले उनीहरूलाई सुरक्षित राख्न कुनै व्यवस्था नगर्दा भारतबाट नेपालसम्म सामान ढुवानी गर्ने चालकहरूबाटै कोरोना सर्ने हो कि भन्ने डर बढेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए । उनका अनुसार सरकारले उनीहरूलाई खानेबस्ने र फर्कने नियम नतोकिदिँदा कति दिन बस्छन् भन्ने अनुमान गर्न मुस्किल परेको छ । थानकोट नाकामा उनीहरूलाई कडाइ गरेरे सबैखाले रेकर्ड प्रहरीले राखेको छ । तर त्यतिले मात्रै पर्याप्त देखिँदैन ।
कतिपय मालवाहक सवारी उपत्यका प्रवेश गरेको २/३ दिनपछि मात्रै बाहिरिने गरेका छन् । त्यसबीचमा उनीहरू कहाँ बस्छन् र कहाँ खान्छन् भन्ने अवस्थाबारे सरकारी निकायले चुस्त रेकर्ड राख्न सकेका छैनन् । ‘अत्यावश्यक सामान बोकेका मालवाहक गाडी रोक्ने कुरा भएन तर उनीहरू भारतबाट आउने भएकाले बढी सचेत हुनु आवश्यक छ,’ उनले भने । उनका अनुसार यसका लागि प्रहरी एक्लैले मात्रै सक्दैन । आजको नागरिक दैनिकमा समाचार छ ।
सरकारले ठाउँठाउँमा चालकलाई खानेबस्ने व्यवस्था मिलाइदिनुपर्छ । उपत्यकामा सामान झारिसकेर उनीहरु बस्ने ठाउँको रेकर्ड पनि राख्नु आवश्यक छ । ‘प्रहरीले रेडर्क राखेको छ तर उनीहरूलाई कम्तीमा खानेबस्ने व्यवस्था मिलाइदिएको भए जोखिम महसूस हुने थिएन,’ एसएसपी ज्ञवालीले भने ।
५ दिनअघि उपत्यकामा जथाभावी सवारीसाधन प्रवेश गरेपछि गृह मन्त्रालयकै कर्मचारीहरू परिचालन गरेर ती सवारीलाई फर्काइएको थियो । त्यसयता प्रहरीले उपत्यका छिर्ने नाकाहरूमा थप कडाइ गरेको छ । तर भीआईपी चढेर आएर गाडी र मालवाहक सवारीकै कारण उपत्यका कोरोना सर्ने हो कि भन्ने त्रास फैलिएको ललितपुरका सहायक प्रजिअ खिमराज भुसालले बताए । उनका अनुसार नाकाहरूमा कडाइ गरिएपनि उपत्यकामा भीआईपी र मालबाहक सवारीसाधन प्रवेश गरिरहेका छन् । यसकारण पनि उपत्यकामा संक्रमण फैलने त्रास देखिन्छ ।
‘सबैभन्दा उच्च जोखिम भारतबाटै सामान बोकेर उपत्यका प्रवेश गर्ने सवारीबाट देखिन्छ, यसबारे ठोस उपाय निकालेर कार्यान्वयन गर्न आवश्यक छ,’ उनले भने ।
गृह मन्त्रालयले भने चालक र मालबाहक सवारीसाधन तुरुन्तै फर्कनुपर्ने भनेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले चालकलाई तुरुन्तै फर्काउने गरिएको र बास बसे पनि सम्बन्धित निकायलाई जानकारी गराएर बस्नुपर्ने नियम रहेको बताए । ‘सामान झारिसकेर त्यो सवारी सीधै फर्कनुपर्छ, अन्यथा हामीले प्रहरीलाई रेकर्ड राखेर कारबाही गर्न भनेका छौं,’ उनले भने । तर लामो दूरीमा सवारी हाँकेका चालकहरू भने उपत्यका प्रवेश गरिसक्दा थाकेर चुर हुने भएकाले सिधै फिर्ता नहुने महानगरीय प्रहरी ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए । उनले लामो दुरीमा सवारी हाँकेका चालकलाई दबाब दिएर तुरुन्तै फर्कनुस् भन्न अलि नसुहाउने बताए ।
‘सकेसम्म प्रहरीले उनीहरूको निगरानी राखेको छ तर ट्राफिक प्रहरीले मात्रै पनि सबै चालकहरूलाई पछ्याउन सक्दैन,’ उनले भने, ‘बरु चालकलाई सरकारले बस्ने ठाउँ तोकिदिने र उच्च निगरानी राख्ने गरे धेरै राम्रो हुन्थ्यो ।’ उनले पछिल्लो समय मिटिङ र भेलाका लागि भन्दै विभिन्न ठाउँबाट भीआईपीहरू उपत्यका प्रवेश गरिरहेको बताए ।
सरकारले आईतवारदेखि उपत्यकामा लकडाउन खुकुलो गरेसँगै चहलपहल बढेको छ । लामो समय घरभित्रै बसेका सहरवासी बाहिर निस्कन थालेका छन् । सुनसान बनेका सडक, पसल र भित्री गल्लीमा मानिसको भीडभाड बढेको छ । २ दिनयता शहरको दृश्य र चहलपहल हेर्दा उपत्यकामा लकडाउन नभएको महसूस हुन्छ । तर सरकारले यस्तो चहलपहल हुनेगरी लकडाउन खुकुलो गरेको भने होइन । अत्यावश्यक सरकारी कार्यालय र उद्योग, खाद्यान्न पसल, कृषि सामग्री ढुवानीलगायत पक्षलाई ध्यानमा राखेर ससर्त निर्णयसहित उपत्यकालाई आईतवारदेखि खुकुलो पार्ने रणनीति अपनाइएको थियो । यसको अर्थ कसैलाई पनि बिनाकाम बाहिर निस्कन दिइएको भने होइन । तर उपत्यकामा २ दिनयता बाहिर निस्कने क्रम बढेको छ ।
लकडाउनमा कडाइ नगर्दा उपत्यकामा जथाभाबी बाहिर निस्कने क्रम भने बढेको छ । लकडाउन गरेको लामो समय भएपछि जनजीवन र आर्थिक क्रियाकलापलाई मध्यनजर गर्दै सरकारले लकडाउन खुकुलो पारे पनि त्यसले झन् जोखिन निन्तिन सक्ने देखिने सरकारी अधिकारीहरू नै बताउँछन् । आईतवार बिना काम बाहिर निस्किएका १ हजार २ सय सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनका अनुसार प्रहरीले कडाइ गरे पनि अन्य दिनभन्दा आईतबारयता उपत्यकामा बाहिर निस्कनेको संख्या बढेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।