काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबारको सचिवालय बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास रोकिएको अनुमान गरिएपनि नेकपाभित्र विवाद अझै साम्य भएको छैन ।
प्रधानमन्त्री ओलीले मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसँग बालुवाटारमा छुट्टाछुट्टै र सामूहिक भेटवार्ता गरेका छन् ।
त्यसअघि सोमबार प्रचण्ड, नेपाल, खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भेला गरेर ओलीसामु गम्भीर शर्त राख्ने निर्णय गरेको खुलासा भएको थियो । ओलीले आफ्ना शर्त नमाने राजीनामाको माग चर्काउने प्रचण्ड–नेपाल समूहको तयारी छ ।
पार्टीभित्रै विपक्षीको तयारी थाहा पाएपछि प्रधानमन्त्री ओली चिन्ता र तनावमा रहेको सार्वजनिक भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले ओली तनावमा देखिएका बताएका छन् । मंगलबारको भेटमा ओली चिन्तित र तनावमा रहेको आफूले पाएको खनालले बताए । ‘मलाई हटाउन प्रयत्न भइरहेको छ भन्ने कुरामा अलि उद्धेलित हुनुहुन्थ्यो । तर मैले यसरी उत्तेजनामा आउनु हुँदैन संयम हुनुपर्छ, धैर्यशील हुनुपर्छ र पार्टीभन्दा माथि कोही पनि छैन भनेर समेत भनेको छु,’ खनालले भने, ‘प्रधानमन्त्रीका कुर्सीमा हामी धेरै मान्छे पुगिसकेका छौं । सबैका आ–आफ्ना अनुभव छन् । तपाईंका पनि आफ्नै अनुभव छन् । त्यसकारण पार्टीले गरेको निर्णयलाई सम्मान गर्नुपर्छ ।’
नेता खनालले ओलीलाई पार्टी निर्णय मानेर अगाडि बढ्न सुझाव दिएका छन् । आफूले प्रधानमन्त्रीलाई आवेग र उत्तेजनामा नआउन सुझाव दिएको वरिष्ठ नेता खनालले बताए । ‘पार्टी सर्वोपरी संस्था हो । पार्टीलाई सबैले मान्नुपर्छ । हामी सबै यो ठाउँमा आइपुगेको पार्टीकै कारणले हो । त्यसकारण पार्टीका निर्णयहरुलाई सबैले सर्वोपरि मान्नुपर्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु,’ खनालले भने, ‘पार्टीलाई सर्वोपरि मानेर मात्रै हामी अग्रगतिमा जान सक्छौं । हामीले कुनै प्रगति गर्नुछ भने पार्टीका निर्णय र मार्गनिर्देशनलाई मानेर मात्रै गर्न सक्छौं । त्यसैले पार्टीलाई सम्मान गर्नुस् पार्टीका निर्णयहरुलाई सम्मान गर्नुस् भनेर मैले सुझाव दिएको छु ।’
खनाल र ओलीबीच बालुवाटारमा झण्डै २ घण्टा छलफल भएको थियो । खनालसँग छलफल गर्नुअघि ओलीले प्रचण्डसँग भेट गरेका थिए । भेटमा प्रचण्डले ओलीसँग कडा शर्त राखेको स्रोतले जनाएको छ । ओलीले प्रधानमन्त्री कायमै रहन सचिवालय फेर्नुपर्ने, मुख्यमन्त्री हटाउनुपर्ने, मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने लगायत माग प्रचण्ड–नेपाल पक्षको रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।