आइतवार, बैशाख २१ २०७७
काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउन चुनाव जित्न सक्ने क्षेत्रको खोजी थालिएको छ।गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय शनिबार भएपछि विकल्पको खोजी थालिएको हो। उनीनिकट नेकपाका एक केन्द्रीय सदस्यका अनुसार उपनिर्वाचन जित्न सक्ने ठाउँ खोज्नका लागि गौतमले केही दिनदेखि परामर्श थालिसकेका थिए। डोल्पा वामदेवले डोल्पामा यसअघि नै आँखा लगाइसकेका छन्।
डोल्पबाट तत्कालीन पर्यटन राज्यमन्त्री धनबहादुर बूढा सांसद छन्। २०७५ भदौमै वामदेवले डोल्पाबाट उपनिर्वाचन लडेर प्रतिनिधिसभामा आउने प्रयास गरेका थिए। वामदेवको प्रस्तावलाई सुरुमा स्वीकारेका बुढाले जिल्ला पुगेपछि बोली फेरे। मतदाता र कार्यकर्तासँग सल्लाह गरेर आउँछु भनेर गएका बुढाले यसबारे सल्लाह गर्दा आफूमाथि झण्डै ढुंगामुढा भएको भन्दै काठमाडौं आएपछि राजीनामा नदिने बताए। वामदेवलाई पहिलो गाँसमै ढुंगा डोल्पाबाटै लागेको थियो।
त्यसपछि उनले बाँके, काठमाडौं ७ हुँदै स्वर्गीय रवीन्द्र अधिकारीको क्षेत्र कास्की २ मा पनि आँखा लगाए। तर कास्की २ मा उठ्दा हार्ने निचोडसहित उनले अन्तिम समयमा पछि हट्ने निर्णय गरे। कास्की २ मा अहिले रवीन्द्र पत्नी विद्या भट्टराई उपनिर्वाचनमा विजयी भइसकेकी छन्। अब फेरि वामदेवले आफ्नो एक विकल्पका रुपमा डोल्पालाई नै रोजेका बताइन्छ। तर त्यहाँबाट उठ्न सांसद बुढाले राजीनामाका लागि तयार हुनुपर्छ। पाल्पा १ त्यही क्रममा उनले महासचिव विष्णु पौडेलसँग पनि परामर्श गरेका थिए। रुपन्देहीका पौडेलले छिमेकी जिल्ला पाल्पा क्षेत्र नम्बर १ गौतमका लागि राम्रो विकल्प हुने सुझाएका थिए।
महासचिव पौडेलकै पहलमा पाल्पा १ का सांसद दलबहादुर रानालाई राजीनामा गर्न लगाएर गौतमलाई त्यहाँबाट उपनिर्वाचन लडाउने भित्री तयारी थालिएको छ। त्यसका लागि महासचिव पौडेलले नै सांसद रानासँग आवश्यक पहल र छलफल गरिसकेको स्रोतले जानकारी दिएको छ। तर पाल्पाका सांसद रानाले भने यसबारेमा आफूलाई केही थाहा नभएको जानकारी दिएका छन्। उनले गौतमका लागि आफ्नो क्षेत्र छाड्न कसैले नभनेको पनि दाबी गरेका छन्।
वामदेव गत निर्वाचनमा बर्दिया वाम गठबन्धनको तर्फबाट बर्दिया क्षेत्र नम्बर १ मा पराजित भएका थिए। उनी कांग्रेसका सञ्जय गौतमभन्दा ७ सय ५३ मत कम ल्याएर पराजित भएका थिए। लोकतान्त्रिक गठबन्धनका सञ्जयकुमार गौतम ४४ हजार ८ सय २९ मत ल्याएर विजयी हुँदा वामदेवले ४४ हजार ७६ मत ल्याएका थिए। बर्दिया १ मा पराजित वामदेवले पुनः त्यहीँ फर्किने इच्छा पनि देखाएका छन्।
बर्दिया २ मा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सन्तकुमार थारु विजयी भएका थिए। उनले पाल्पासँगै बर्दिया २ लाई पनि अर्को विकल्पका रुपमा हेरेको एक सहयोगीले जानकारी दिएका छन्। जहाँ २०७४ को निर्वाचनमा ५० हजार ५ सय ५५ मत ल्याई थारु विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठवन्धनबाट नेपाली कांग्रेसका गोपाल दहित ३६ हजार ७३५ मत ल्याएर हारेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।