सारा विश्व कोरोना भाइरस (कोभिड–१९) महासंकटका कारण आक्रान्त भइरहेका छन् । सिंगो मानव सभ्यता नै खतरामा पर्ने हो कि भन्ने चिन्ता बढ्दैछ ।
विश्वका शक्तिराष्ट्र अमेरिका, जापान, फ्रान्स, बेलायत जस्ता विकसित देशमा नियन्त्रण बाहिरको स्थितिमा छ भने नेपालमा दोस्रो चरणमा रहेको छ ।
कोरोना नियन्त्रणका लागि सारा शक्ति लगाउनुपर्ने अवस्थामा बहुमत प्राप्त पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र स्वयं प्रधानमन्त्री नै सत्ताको लुछाचुडी गर्दै जोड–घटाउमै लागेको प्रस्ट देखिएको छ ।
महासंकटको समयमा समेत सरकार र सत्ताधारी पार्टीको यस किसिमको रबैयाबाट नेपाली जनता झन् दुःखी भइरहेको अवस्था देखिन्छ । कोरोना संकटमा समेत राजनीति नेताहरू पद प्रतिष्ठा मात्रै खोज्नतिर लाग्दा जनतालाई सरकार भएको र जनप्रतिनिधि भएको अनुभूति हुन सकेको छैन । महासंकटमा सरकार जनताको जीवन रक्षार्थ हुन नसक्नु सरकार कतिसम्मको निकम्मापन छ भन्ने प्रस्ट बुझ्न सकिन्छ । महासंकटको बेला समेत जनतालाई साथ नदिने कम्युनिस्ट सरकारबाट के आश राख्ने ?
कमरेडहरू अहिले जनताको जीवन रक्षामा जुट्नुहोस्, हजुरहरूको सत्ताको प्यास मेटाउने समय छँदैछ, मेटाउँदै गर्नुहोला । कठिन परिस्थितिमा पनि सरकार भ्रष्टाचारीलाई नै प्रश्रय दिने गरी यति, ओम्नी जस्ता समूहको बचाउमा उत्रिनु कतिसम्मको लज्जास्पद हर्कत हो ? त्यससँगै कुनै राजनीतिक पार्टीलाई केन्द्रित गरेर पार्टी फुटाउने अध्यादेश ल्याउनु र निर्वाचित २ सांसद र नेपाल प्रहरीकै पूर्व आईजीपी सांसद अपहरण जस्ता कार्य गर्दै जानु झन् विडम्बनापूर्ण छ ।
संवैधानिक निकायमा नियुक्तिका लागि प्रतिपक्षी दलको नेता नै नचाहिने जस्ता प्रस्ताव ल्याइनु र पुनः ५ दिनमा आफ्नो निर्णयबाट पछि हट्नु आफूले गरेको निर्णयबाट आफैं सन्तुष्ट नहुनुले पनि प्रश्न खडा हुन्छ । एउटा कुशल नेतृत्वमा दूरदर्शिताको कति खाँचो हुन्छ भन्ने कुराको ख्याल समेत गर्न नसक्ने अवस्थामा सरकार पुगेको देखिन्छ ।
पूर्व प्रधानमन्त्री, मन्त्री र बहालवाला सांसदहरू नै उपस्थित हुँदा समेत प्रहरीले जाहेरी नलिने र अर्कोतर्फ सामाजिक सञ्जालमा सरकारको आलोचना गरेकै कारण पूर्व सचिव भीम उपाध्यायलाई पक्राउ गर्नुले सरकार कुन प्रयोजन र के नियतका साथ चलिरहेको छ भन्ने पनि छर्लङ्ग भइसकेको छ । सरकार सत्तामै रहेका नेता कार्यकताको मात्र अभिभावक हो कि आमनेपाली जनताको पनि अभिभावकत्व ग्रहण गर्दै जाने हो ?
गरीब, निमुखा, श्रमिक, मजदुर, विद्यार्थी भोकभोकै हुँदासम्म सरकार त्यस कुरामा आँखा चिम्लिँदै बस्नु र बन्दाबन्दीको विकल्प खोज्ने प्रयत्न नगर्नु जनतालाई घरमा बस्न लगाइ आफू सत्ताको लुछाचुडीमै रमाउने देखिएको छ । नेपालमा अब कोरोनाको महामारी तथा महासंकटसँगै राजनीतिक संकटको पनि महाप्रलय आउने देखिन्छ भने वर्तमान परिस्थितिमा प्रतिपक्षी दल नेपाली कांग्रेस पनि आन्तरिक कलह, किचलो, गुट–उपगुट गर्नमै केन्द्रित भइरहेको छ । सरकारलाई खबरदारी गर्ने र जनतालाई अभिभावकत्व गर्ने भूमिकाबाट कतै विचलित पो भइरहेको छ कि भन्ने पनि देखिन्छ, त्यसतर्फ कांग्रेसको ध्यानाकर्षण हुनु अत्यन्तै आवश्यक देखिन्छ ।
यी सबै कुरामा सरकारको ध्यानाकर्षण होस्, राजनीतिक खिचातानी होइन, अहिलेको संकटको समयमा सबै मिलेर कोरोनासँग लडाइँ जितौं । यो जीतपछि तपाईं सत्ताको प्यास मेटाउनुहोला, जनता आफ्नो नियमित काममा फर्किने छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।