सोमवार, बैशाख १५ २०७७
काठमाडौं– नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले स्थायी समिति बैठक बोलाउन नमाने त्यसको विकल्पमा जान तयार हुनुपर्ने निष्कर्ष निकालेका छन्।
वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित निवासमा उनी निकट स्थायी समिति सदस्यहरूको छलफलमा यस्तो निष्कर्ष आएको हो।
'प्रधानमन्त्रीसँग पार्टी बैठक बोलाउनुको विकल्प छैन। उहाँले बेठक बोलाउनुहुन्छ भन्ने पक्षमै हामी छौं,' एक स्थायी समिति सदस्यले भने,' उहाँले बैठक बोलाउन आलटाल गरेमा हामी पनि विकल्प खोज्छौं। विकल्पका लागि वैधानिक बाटा पनि छन्। तर अहिले नै विकल्पमा जाने बेला भइसकेको छैन।'
आफू निकटका स्थायी समिति सदस्यलाई नेपालले प्रधानमन्त्री ओली बैठक बोलाउने पक्षमा नरहेको समेत जानकारी गराएका थिए। 'साथीहरू तपाईंलाई सहयोग गर्ने मनस्थितिमा छैनन् भनेर मैले ओलीजीलाई भनेको छु,' वरिष्ठ नेता नेपालका भनाइ उद्धृत गर्दै एक नेताले भने, 'त्यसो भए ठिकै छ, म पनि मेरै ढंगले चल्छु भनेर उहाँले भन्नुभएको छ।'
कोटेश्वरमा नेपाल निकटका स्थायी समिति सदस्यबीच छलफल चलिरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आइपुगेका थिए।
'प्रधानमन्त्रीले पार्टी बैठक किन बोलाउनुपर्यो, हामी बसेर छलफल गरे भइहाल्छ नि भन्नुभएको छ। बैठक नगरी मिलाऊँ भन्ने कुरा छ,' प्रचण्डका भनाइ उद्धृत गर्दै एक नेताले भने, 'उहाँले त्यसो भने पनि बैठकका लागि हाम्रो प्रयास जारी छ।'
सदस्य युवराज ज्ञवालीले स्थायी कमिटीले गरेका निर्णयका आधारमा पार्टी अगाडि बढ्ने बताए। आफूहरूले लिखित रुपमै स्थायी समिति बैठक राख्न माग गरेकाले त्यसको विकल्प समेत नरहेको उनले बताए। अध्यादेश फिर्ता भए पनि विधानअनुसार बैठक बोलाउन पर्ने र थुप्रै गम्भीर विषयमा छलफल हुन बाँकी रहेको ज्ञवालीले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।