काठमाडौं – समाजवादी पार्टी नेपालका सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेहरू सांसद महेश बस्नेत, पूर्व आईजीपी सर्वेन्द्र खनाल लगायतलाई कारबाही गर्ने एजेन्डा प्रधानमन्त्री केपी शर्मा ओलीको टेबुलमा पुगेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार अपराह्न बालुवाटारमा ओलीलाई भेटेर अपहरण काण्डको निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रवारै जारी गरेको प्रेस नोटमा देउवाको भनाइ उद्धृत गर्दै भनिएको छ, ‘एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारवाही गर्नुपर्ने माग देशभरि उठेको छ । मेरो माग यही छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ ।’
यसअघि समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेले समेत प्रधानमन्त्रीकै निर्देशनमा सांसद यादवलाई जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याइएको सामाजिक सञ्जालमा लेखेका थिए ।
समाजवादी पार्टीका नेताले सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनालले यादवलाई जबरजस्ती काठमाडौं ल्याएर होटलमा बन्दी बनाएको आरोप लगाएका छन् । सांसद यादवले समेत आफूलाई मनोवैज्ञानिक त्रास देखाएर काठमाडौं ल्याइएको बताएका छन् ।
भेटमा सभापति देउवाले दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै ओलीलाई धन्यवाद समेत दिएका छन् । कोरोनाको जोखिमसँग लडिरहेका बेला आगामी दिनमा विवादका कुरा नल्याउन देउवाले ओलीलाई सुझाव समेत दिएका छन् ।
सभापति देउवाले कोरोना भाइरसको परीक्षणको दायरा बढाउनुपर्ने माग समेत गरे । समुदायस्तरमा व्यापक परीक्षण गर्न ढिलो गर्न नहुने उनको सुझाव छ ।
स्वास्थ्यकर्मीलाई पीपीई लगायतका सामग्री यथाशीघ्र पुर्याउन, स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने काम रोक्न, श्रमिकलाई कि खान, कि गाउँ जान दिन पनि सभापति देउवाले ओलीसँग माग गरेका छन् ।
सभापति देउवाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट समस्यामा परेकाहरूलाई सरकारले घोषणा गरेको राहत अधुरो भएको र लक्षित वर्गसम्म नपुगेको भन्दै ओलीको ध्यानाकर्षण गराएका छन् । देउवाले अर्को राहत प्याकेज ल्याउन पनि ओलीलाई सुझाव दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।