काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टको मर्यादाक्रम घटुवा भएको छ ।
समाजवादी पार्टी नेपालको संघीय परिषद् अध्यक्ष भएर पार्टीमा पहिलो नम्बरको मर्यादाक्रममा रहेका डा. भट्टराई राष्ट्रिय जनता पार्टी (राजपा) सँगको एकीकरणसँगै घटुवा भएका हुन् ।
समाजवादी र राजपाबीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टीमा डा. भट्टराईको मर्यादाक्रम दोस्रो नम्बरमा रहने भएको छ ।
यसअघि डा. बाबुराम भट्टराई तत्कालीन नेकपा माओवादीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि दोस्रो मर्यादामा रहँदै आएका थिए । नयाँ शक्ति पार्टी गठन गरेपछि पहिलो नम्बरको मर्यादामा पुगेका भट्टराई पुनः दोस्रो नम्बरमा खस्किएका छन् ।
राजपा नेपालका महासचिव केशव झाले एकीकृत पार्टीको मर्यादाक्रममा पहिलो नम्बरमा महन्थ ठाकुर हुने र त्यसपछि दोस्रो नम्बर डा. बाबुराम भट्टराई रहने सहमति भएको बताएका छन् । पार्टीमा अन्य नेताहरुको मर्यादाक्रम पछि तय गर्दै जाने सहमति भएको जनाइएको छ ।
पार्टीमा उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित राजपाका अध्यक्ष मण्डलका अन्य सदस्यको मर्यादाक्रम टुंग्याउन बाँकी रहेको छ ।
राजपा नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार राति एकता गर्ने सैद्धान्तिक सहमति गरिएको हो । मध्यरातमा दुवै पार्टीका शीर्ष नेताहरूले पार्टी एकीकरणका लागि सैद्धान्तिक सहमतिपत्र सार्वजनिक गरेका छन् ।
एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी रहने लिखित सहमति गरिएको छ भने पार्टीको चुनाव चिह्न राजपाको छाता छाप रहने तथा पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने सहमति भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।