काठमाडौं – समाजवादी पार्टी नेपालकी उपाध्यक्ष एवं सांसद रेणु यादवको नेतृत्वमा ७ सांसदले पार्टी फुटाएर नयाँ पार्टी बनाउने निर्णय गरेका छन् ।
सांसद यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले पार्टी फुटाउने निर्णय गरेका हुन् ।
छुट्टै पार्टी गठन गर्ने तयारीका लागि बुधवार साँझ विद्रोही सांसदहरु रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएका थिए । समाजवादी पार्टी स्रोतका अनुसार असन्तुष्ट पक्षले बिहीवार नै नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन् ।
पार्टी विभाजनका लागि महोत्तरीमा रहेका सांसद सुरेन्द्र यादव सरकारी सहयोगमा सडकमार्ग हुँदै काठमाडौं पुर्याइएको जनाइएको छ । दिउँसो यादव जनकपुरबाट एक्कासि सम्पर्कविहीन भएपछि समाजवादी पार्टीले उनलाई सरकारको निर्देशनमा प्रहरीले अपहरण गरेको आरोप लगाएको थियो ।
समाजवादी पार्टीका प्रतिनिधि सभामा जम्मा १७ जना सांसद रहेका छन् । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा कुनै पार्टी फुटाएर नयाँ पार्टी गठनका लागि सो पार्टीको संसदीय दल र केन्द्रीय कमिटीमा ४०/४० प्रतिशत सदस्यको समर्थन हुनुपर्ने कानून थियो । २ दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर अध्यादेशमार्फत संसदीय दल वा पार्टीको केन्द्रीय समितिमध्ये एउटामा ४० प्रतिशत सांसदको समर्थन भए पार्टी विभाजन गरेर नयाँ पार्टी गठन हुनसक्ने व्यवस्था गरेका छन् ।
प्रधानमन्त्री ओलीको योजना अनुसार समाजवादी पार्टी फुट्न लागेको छ । समाजवादीका ७ सांसदले पार्टी फुटाउने निर्णय गरेपछि हतारहतार मध्यरातमा समाजवादी पार्टी र राजपाले एकीकरणको घोषणा गरेका छन् । दुवै पार्टी एक भएपछि ७ सांसदले मात्र एकीकृत पार्टीको संसदीय दलको ४० प्रतिशत पुग्ने छैन । तर त्यसका लागि एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता हुनुपर्नेछ । जुन पार्टी पहिले दर्ता भयो त्यसैले बाजी मार्छ । निर्वाचन आयोगमा पहिला कसले गर्दा गराउन सक्छ, त्यो भने हेर्न बाँकी छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले बुधवार अबेर राति पार्टी एकता घोषणा गरेका छन् । पार्टी एकता भएपछि ‘जनता समाजवादी’ नाम राखिएको छ । एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा हुनेछ भने चुनाव चिह्न छाता रहने सहमति भएको छ ।
लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधवार राति सहमति भएको छ । पार्टीको वरियता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।