काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश ल्याएपछि राजनीति तरङ्गित भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपाल खुलेरै विरोधमा उत्रिएका छन् ।
नेता नेपालले पार्टी एकतामा आघात पुग्ने काम नगर्न आग्रह गरे । ओलीले पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याएको भन्दै सर्वत्र विरोध भइरहेको छ ।
‘विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको छ,’ नेता नेपालले भनेका छन्, ‘पार्टी पंक्तिलाई भावनात्मक रुपले एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्ने र पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउन आ–आफ्नो ठाउँबाट योगदान गर्न आह्वान गर्छु ।’
नेकपाको ७१ औं स्थापना दिवसको अवसर पारेर नेता नेपालले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहमबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो ।’
ओली सरकारले ल्याएका अध्यादेशको नाम उल्लेख नगरी नेता नेपालले कोरोना भाइरस संक्रमणको महामारीका बेला अन्यत्र भड्किन नहुने स्पष्ट सन्देश समेत दिएका छन् । उनले भने, ‘यस विषम परिस्थितिमा सरकार पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानुनी शासनको मान्यतामा प्रहार गर्ने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टी एकतामा आघात पुग्नसक्ने काम कुरा हुनु हुँदैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।