काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेका बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशभरका प्रहरी नेतृत्वलाई कडा निर्देशन दिएका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएका १० प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले कोरोना संक्रमणको जोखिम रहेको वर्तमान अवस्थामा सीमा नाकामा थप कडाइका लागि विशेष ध्यान दिन निर्देशन दिएका छन् ।
लकडाउन कार्यान्वयन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने बताउँदै गृहमन्त्री थापाले प्रभावकारी कार्यान्वयन गराउन प्रदेशको नेतृत्व गर्ने प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा गृहमन्त्री थापाले भने, ‘राज्यले विश्वास गरेर तपाईंहरूलाई यो जिम्मेवारी प्रदान गरेको छ, जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्दै सृजनात्मक ढंगले काम कारवाही अघि बढाउनुहोस् ।’ मुलुक कोरोना विरुद्धको लडाइँमा रहेको अवस्थामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गरिरहेको बताउँदै गृहमन्त्री थापाले राज्यको रणनीति सफल भए सबैले कोरोना विरुद्धको लडाइँ जित्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।