काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले आफ्ना लागि सुविधासम्पन्न इलेक्ट्रिक गाडी खरिदका लागि विनियोजित रकम सरकारको सञ्चित कोषमा फिर्ता भएको छ ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण उत्पन्न विशेष परिस्थितिमा आफ्ना लागि गाडी खरिद गर्नु उपयुक्त नहुने विश्लेषण गरी राष्ट्रपति भण्डारीले रकम फिर्ता गरेकी हुन् ।
राष्ट्रपति कार्यालय भण्डारीका लागि ६५ लाख रुपैयाँ (भन्सार राजस्वबाहेक) मा लामो भीभीआईपी इलेक्ट्रिक गाडी खरिद गर्ने अन्तिम तयारीमा थियो । राष्ट्रपति भण्डारीले चढ्दै आएका सुविधासम्पन्न गाडी पुराना भइसकेका छन् ।
अरु गाडी पुराना भएकाले भण्डारीले २ वर्षअघि खरिद गरिएको बीवाईडी इलेक्ट्रिक कार चढ्दै आएकी छन् । कार एकपटक चार्ज गरेपछि १५० किलोमिटर गुड्छ । राष्ट्रिपति कार्यालयले एक पटक चार्ज गरेपछि ४५० किलोमिटर गुड्ने त्योभन्दा आधुनिक र सुविधासम्पन्न कार किन्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको थियो ।
भण्डारीका लागि नयाँ कार आएपछि पुरानो इलेक्ट्रिक गाडी राष्ट्रपति कार्यालयका अरु एक पदाधिकारीलाई दिने निर्णय भइसकेको थियो । राष्ट्रपति कार्यालयका सचिव र सहसचिव लगायतका लागि अरु ५ वटा इलेक्ट्रिक कार खरिद गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको थियो ।
राष्ट्रपति कार्यालयका सचिव र सहसचिवका गाडी समेत पुराना भएकाले मर्मतसम्भार खर्च धेरै पर्न थालेकाले नयाँ खरिद गर्न लागिएको दाबी स्रोतको छ । राष्ट्रपति कार्यालयले सार्वजनिक खरिद ऐनको प्रक्रिया पूरा गरी करीब ५ करोड रुपैयाँमा ६ वटा कार र चार्जिङ स्टेसनका लागि उपकरण किन्न लागेको थियो ।
मुलुकमा कोरोनाको संक्रमण देखिन थालेको र लकडाउनका कारण सिंगो मुलुक आर्थिक संकटमा परेको हुनाले राष्ट्रपति कार्यालय नयाँ गाडी खरिदको प्रक्रिया स्थगन गर्ने निर्णयमा पुगेको जनाइएको छ ।
स्रोतका अनुसार राष्ट्रपति कार्यालयका लागि डेढ करोड रुपैयाँमा जेनेरेटर र इन्भर्टर तथा सल्लाहकार, विज्ञ, कार्यालयका सचिव, सहसचिवका लागि कम्प्युटर र ल्यापटप खरिद प्रक्रिया अघि बढाइएको थियो । राष्ट्रपति कार्यालयमा एउटा विशेष मिटिङ हल निर्माण गर्न लागिएको थियो ।
कार्यालयमा विदेशी मुलुकका राजदूतले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि छुट्टै भेट्ने मिटिङ हल समेत छैन । करीब साढे ४ करोड रुपैयाँमा मिटिङ हल बनाउने र राष्ट्रपति कार्यालय भवनको मर्मतसम्भार गर्ने तयारी भइरहेको थियो ।
राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलले नयाँ गाडी, ल्यापटप, कम्प्युटर तथा मेसिनरी औजार खरिद तथा मिटिङ हल निर्माण र भवनको मर्मतसम्भार कार्य स्थगित गरी बजेट फिर्ता गरिएको बताए । ‘अत्यन्त जरुरी हुँदाहुँदै पनि राष्ट्रपति कार्यालयले गाडी, ल्यापटप, कम्प्युटर खरिद तथा भवन मर्मतसम्भार तथा मिटिङ हल निर्माण लगायतका काम रोकेर साढे ९ करोड रुपैयाँ फिर्ता गरेको हो,’ पौडेलले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।