काठमाडौं – पार्टी र सरकार सञ्चालनका विषयमा मनमुटाव बढेका बेला कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो अन्तरालपछि शनिवार ३ घण्टा भेटवार्ता भएको छ ।
कोरोना भाइरसले सिर्जना गरेको जटिल स्थिति, लकडाउनलाई प्रभावकारी बनाउने विषय, लकडाउनका कारण बाटोमा अलपत्र परेका मजदुरको उद्धार र समस्यामा परेकालाई राहत दिने तथा पार्टी एकता टुंग्याउने लगायतका विषयमा २ नेताबीच छलफल भएको छ ।
‘लामो समयपछि उहाँहरूबीच सौहार्दपूर्ण ढंगले छलफल भएको छ,’ भेटपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘समसामयिक परिस्थिति, कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासमा केन्द्रित रहेर उहाँहरूबीच कुराकानी भएको छ ।’
कहिलेकाहीँ दिनमै २ पटकसम्म भेटवार्ता गर्ने ओली र प्रचण्डबीच चैत २५ गतेको सचिवालय बैठकयता छुट्टै छलफल भएको थिएन । लामो समय भेट नहुनु दुवै नेताबीच सम्बन्ध चिसिनुको परिणाम थियो । त्यसैले १ हप्ताअघि प्रचण्डले निजी क्षेत्रको एक टेलिभिजनमार्फत प्रधानमन्त्रीसँग आफूले खुलस्त लामो समयसम्म छलफल गर्न चाहेको र त्यसका लागि समय माग गरेको सार्वजनिक रुपमै बताएका थिए ।
शनिवारको भेटवार्तामा संवादहीनता हुनुका पछाडिका कारणमा केन्द्रित रहेर समीक्षात्मक कुराकानी समेत भएको छ । प्रेस सल्लाहकार थापाले भने, ‘कुराकानी सकारात्मक हिसाबले अघि बढेको बुझिन्छ ।’
भेटवार्तामा अध्यक्ष प्रचण्डले कोरोना भाइरसको त्रासका कारण बाटोमै बिचल्लीमा परेका मजदुरहरूको तत्काल उद्धारमा सरकारले तदरुकता देखाउनुपर्ने विषय उठाएका थिए । ‘उहाँले बीचबाटामै बिचल्ली परेका मजदुरहरूको उद्धार र राहतमा सरकारको भूमिका प्रभावकारी बनाउने, लकडाउनलाई अझ कडाइका साथ कार्यान्वयन गर्ने लगायतका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नुभएको छ,’ प्रचण्डलाई उदृत गर्दै उनीनिकट एक नेताले भने । स्रोतका अनुसार पार्टी एकता टुंग्याउने र पार्टीसँग सम्बन्धित विषयमा पनि छलफल भएको थियो ।
‘आजको भेटवार्तामा दुई विषयमा सहमति जुटेको छ,’ स्रोतले भन्यो, ‘पहिलो, लकडाउनपछि शहर छाडेर गाउँघर फर्केकाहरू जो जहाँ पुगेका छन्, उनीहरूको गाँस–वास र सुरक्षित रूपमा घरसम्म पुर्याउने व्यवस्था गर्ने र दोस्रो, पार्टीसँग सम्बन्धित विषयहरूमा अब छलफललाई अघि बढाउने ।’
राजदूत लीलामणि पौडेललाई चीनबाट फिर्ता बोलाउने प्रधानमन्त्री ओलीको निर्णय र कोरोना संक्रमण विस्तार हुन नदिन सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गर्नुपर्ने प्रचण्डको प्रस्तावले दुवै शीर्ष नेताबीच सम्बन्ध चिसिएको विश्लेषण नेकपा वृत्तमा हुँदै आएको थियो । तर अध्यक्षद्वयबीच बिहान ११ बजेदेखि २ बजेसम्म ३ घण्टा भएको भेटवार्तापछि सम्बन्ध सुधारतर्फ अघि बढेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।